बैतडी, १९ मंसिर – दलित समाज विकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीले आफू अध्ययन गरेको विद्यालयमा आमाबुवाको सम्झनामा अक्षयकोष स्थापना गरेकी छिन्।

दुई दशकदेखि दलित अधिकार र सामाजिक न्यायका लागि सक्रिय रहिआएकी नेपालीले स्वर्गीय आमा विष्णा नेपाली र स्वर्गीय बुबा नन्दे नेपालीको नाममा बैतडीको दशरथचन्द नगरपालिका–४ स्थित वीरेन्द्र माध्यमिक विद्यालय, शाहीलेकमा कोष स्थापना गरेकी हुन्।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र अपाङ्गता दिवसको अवसरमा स्थापना गरिएको उक्त कोषबाट विद्यालयका गरिब, दलित, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।

आफू हुर्के बढेको ठाउँ र कखरा सुरु गरेको विद्यालयका विद्यार्थीहरुको हितमा खर्च होस भनेर बुवा आमाको नाममा अक्षय कोष स्थापना गरिएको बताइन ।

विद्यालयमा स्थापना गरिएको ५० हजार रुपैयाँ बराबरको अक्षयकोषबाट गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने नेपालीले बताइन् । 

विद्यालयमा स्थापना गरिएको अक्षयकोषले जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक हर्कबहादुर चन्दले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *