अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी-२० क्रिकेट सिरिज कान्तिपुरका च्यानलमा प्रत्यक्ष प्रसारण हुने भएको छ।
उक्त सिरिजका सबै खेल कान्तिपुर मिडिया ग्रुपका च्यानलमार्फत् प्रत्यक्ष प्रसारण गरिने सोमबार सम्झौता भएको हो। साेमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसी र एडी रिलिजका निर्देशक आर.सी. रेग्मीबीच प्रसारण अधिकारसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौता अनुसार, सिरिजका सबै खेल कान्तिपुर म्याक्समा प्रत्यक्ष देखाइने छन् भने नेपाल र बंगलादेश ‘ए’ टोलीबीचको खेल कान्तिपुर टिभीबाट प्रसारण गरिनेछ। एडी रिलिजले यस सिरिजको सम्पूर्ण विज्ञापन अधिकार पाएको छ।
नेपालले अस्ट्रेलिया भ्रमणलाई आगामी अक्टोबरमा ओमानमा हुने आईसिसी पुरूष टी-२० विश्वकप एसिया छनोटको तयारीका रूपमा लिएको छ । यस सिरिजमा नेपालले विभिन्न टोलीहरूसँग लिग चरणका खेल खेल्नेछ।
लिग चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेलिनेछ र त्यसपछि फाइनल हुनेछ। फाइनलसम्म पुगे नेपालले कुल ८ खेल खेल्नेछ।