काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ।

एनपीएलको दोस्रो सिजनका सबै खेल त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित कुल ३२ खेल समावेश छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएको छ ।

उद्घाटन खेलका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। लिग चरण र अन्य दिनको खेलका लागि भने साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार रुपियाँ तोकिएको छ। प्लेअफपछिका खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सम्पूर्ण सिजनका लागि एकमुस्ट सिजनल टिकटको मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

प्रतियोगिताको दोस्रो दिन मङ्गलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल ४ बजे हुनेछ ।

यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच  प्रतिस्पर्धा हुनेछ । एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले १५ लाख प्राप्त गर्नेछ । एनपिएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *