अगस्ट १, २०२४ मा गाजा शहरमा एफपी अन्तर्वार्ताको क्रममा अल-जजीराका अनस अल-शरीफ बोल्दै / © एफपी/फाइल

गाजा सिटीको प्रमुख अस्पताल अल–शिफा नजिक इजरायली आक्रमणमा परेर पाँच अल–जजीरा पत्रकारको मृत्यु भएको छ । उक्त घटना बारे अल–जजीरा समाचार संस्थाले पुष्टि गरेको हो ।


मृत्यु हुनेमा संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैकेह, साथै क्यामराम्यान इब्राहिम जाहेर, मोहम्मद नौफल र मोअमेन अलिवा रहेका छन् । उनीहरू अस्पतालको मुख्य गेट नजिक पत्रकारहरूको लागि बनाइएको टेन्टमा रहेका बेला लक्षित आक्रमण भएको अल–जजीराले जनाएको छ ।

गाजा शहरमा पत्रकारहरूलाई बसोबास गर्ने पालमा इजरायली आक्रमणमा लक्षित इजरायली पत्रकार अनस अल-शरीफ र उनका चार सहकर्मीको मृत्यु भएको अल जजीराले जनाएको छ /© AFP
अगस्ट ८, २०२५ मा गाजा शहरमा विस्थापित प्यालेस्टिनीहरूका लागि बनाइएका अस्थायी आश्रयस्थलहरू वरिपरि इजरायली आक्रमणमा ध्वस्त भवनहरू / © AFP

अल–जजीराले यस आक्रमणलाई ‘पत्रकारितामाथिको पूर्वनियोजित र स्पष्ट आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेको छ ।

इजरायली रक्षा बलले आक्रमणपछिको टेलिग्राम पोस्टमा अनस अल–शरीफलाई हमासको एक आतङ्ककारी सेलको प्रमुख भएको आरोप लगाउँदै उनीमाथि लक्षित कारबाही गरिएको पुष्टि गरेको छ । अन्य पत्रकारहरूबारे भने कुनै टिप्पणी गरेको छैन ।

अल–जजीराको अनुसार, उक्त आक्रमणमा कूल सात जनाको मृत्यु भएको छ । सुरुमा संस्थाले चार पत्रकारको मृत्यु पुष्टि गरे पनि केही घण्टापछि मृतकको संख्या पाँच पुगेको जनाएको छ ।

गत महिना, अल–जजीरा, संयुक्त राष्ट्रसंघ, र पत्रकार सुरक्षा समितिले संयुक्त रूपमा अल–शरीफको सुरक्षाका लागि अपिल गरेका थिए ।

अगस्ट १०, २०२५ मा गाजा पट्टीमा सूर्य अस्ताउदा / © AFP

पत्रकार सुरक्षा समितिका अनुसार, अक्टोबर २०२३ मा इजरायली सैन्य कारबाही सुरु भएदेखि गाजा क्षेत्रमा हालसम्म कम्तीमा १८६ जना पत्रकारको मृत्यु भइसकेको छ ।

एजेन्सी

अगस्ट १०, २०२५ मा घेराबन्दीमा परेको गाजा पट्टीमा इजरायली आक्रमणको क्रममा उठिरहेको धुवाँ/ © AFP

Leave a Reply

Your email address will not be published. Required fields are marked *