बहुप्रतिक्षित दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले विजयी सुरुवात गरेको छ ।

सोमबार पहिलोपटक फ्लड लाइटमा भएको खेलमा काठमाडौँले जनकपुरलाई ५ विकेटले पराजित गर्‍यो । ओपनरद्वय बेन चार्ल्सवर्थ र आकाश त्रिपाठीले उत्कृष्ट ब्याटिङ गरेपछि काडमाडौंले १ सय ३१ रनको लक्ष्य दुई ओभर अगाडि नै पूरा गर्‍यो ।

इंग्लिस खेलाडी चार्ल्सवर्थले २३ बलमा ४६ रन बनाउँदै आकाशसँग पहिलो विकेटमा ८ ओभरमा ७० रन जोडी काठमान्डुलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । चार्ल्सवर्थले ५ चौका र ३ छक्का प्रहार गरे । गत सिजन जनकपुरले उपाधि जित्दाका सदस्य आकाशले ४५ बल खेली ५ चौकासहित ३९ रन बनाए ।

भीम सार्की ७ बल खेली ३ रनमै आउट भए । मिलिन्द कुमारले २२ बल खेली १ छक्कासहित १९ र जोहन सिम्पसनले ६ बल खेली समान १ चौका र छक्कासहित १३ रन बनाए । जेहर्राड इरसमस १ र मोहम्मद आदिल अन्सारी ४ बलमा १ छक्का प्रहार गरी ८ रन बनाई अविजित रहे ।

यसअघि आसिफ शेखले अर्धशतक बनाए पनि काठमान्डुले जनकपुरलाई १ सय ३० रनको स्कोरमा रोकेको थियो । काठमान्डुले टस जितेपछि ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३० रन मात्र बनाउन सकेको थियो ।

जनकपुरका विदेशी खेलाडी यो खेलमा चल्न सकेनन् । गत सिजनमा सर्वाधिक रन बनाएका लाहिरु मिलन्था १२ बलमा ७ रन बनाएर आउट भए । यस्तै नामिबियाका खेलाडी जान इटन लोफ्टी २ रन बनाएर आउट हुँदा अमेरिकन खेलाडी संजय कृष्णमुर्तिले पनि मात्र २ रन बनाए । यसरी विदेशी खेलाडी त्रिवि मैदानमा चल्न नसकेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर पहिलो खेलमा हार व्यहोर्न बाध्य भयो । 

तस्बिर सबै : NPL

लिगमा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल ११:४५ मा कर्णाली याक्स र चितवन राइनोजबीच हुनेछ भने दोस्रो अपराह्न ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *