भारत र श्रीलंकामा अहिले टी–२० विश्वकप क्रिकेट चलिरहेको छ । समग्रमा तेस्रोपटक सहभागी भएको नेपालले आइतबार क्रिकेटको जननी मात्र होइन, क्रिकेटको यो सबैभन्दा नयाँ प्रारूप टी–२० को पनि जननी, इंग्ल्यान्डविरुद्ध भारतको वानखेडे मैदानमा जुन खेल देखायो त्यसको चर्चा विश्वभर छ ।
खेल इंग्ल्यान्डले जित्यो, महफिल भने नेपालले लुट्यो । नेपालमा मात्र होइन, संसारमा जहाँ जहाँ क्रिकेटका पारखी छन्, त्यहाँ अहिले कुनै टिमको चर्चा भइरहेको छ भने, त्यो नेपाल हो ।
हारेर पनि किन चर्चामा नेपाल ?
चर्चा र महिमागान प्रायः जित्नेको हुन्छ, तर इंग्ल्यान्ड र नेपालबीचको खेलपछि हार्ने नेपालको चर्चा भइरहेको छ, जित्ने इंग्ल्यान्ड गुमनाम जस्तै ।
टेलिग्राफले- इंग्ल्याण्डको अन्तिम बलसम्म पुगेको विश्वकप थ्रिलरको तनावपूर्ण उत्कर्ष
वानखेडेमा भएको खेल इंग्लो-नेपाल वार थिएन, नालापानी किल्लामा केही सय नेपाली सेनालाई आधुनिक हातहतियारले सुसज्जित हजारौँ अंग्रेज सेनाले घेरा हालजस्तो । तर यो खेलको थ्रिलर त्यो वारभन्दा कम पनि थिएन । रिजल्ट त्यो युद्धको जस्तै अंग्रेजको पक्षमा भए पनि लडाइँ भने अन्तिम बलसम्मै भयो ।
पहिलोपटक इंग्ल्यान्ड र नेपाल क्रिकेटका कुनै पनि प्रारूप र प्रतियोगितामा पहिलपटक आमनेसामने थिए । मञ्च थियो- विश्वकप । टस जितेका इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले पहिला ब्याटिङ गर्ने निर्णय लिए । सायद नेपाली कप्तान रोहित पौडेलले टस जितेको भए पनि नेपालले पहिला बलिङ नै गर्ने थियो । किनकि यही पिचमा शनिबार भारत र यूएसएबीच खेल भएको थियो, जहाँ पहिला ब्याटिङ गर्न निकै सकस देखिएको थियो । एक समय त भारत सय रनभित्रै अमेरिकाविरुद्ध अलआउट हुने संकटमा फसेको थियो, त्यो खेलमा । त्यसैले टस हारे पनि अंग्रेज कप्तानको निर्णय नेपालको प्रतिकूल थिएन । भयो पनि त्यस्तै दोस्रो ओभरको पहिलो बलमै नेपालका लागि पहिलो अन्तराष्ट्रिय खेल खेलिरहेका शेर मल्लले फिल साल्टको विकेट लिए ।
त्यसपछि नन्दन यादव र सन्दीप लामिछानेले विकेट लिए । नेपालले लगातार अन्तरालमा विकेट लिइरह्यो । निकै खतरनाक देखिएका ज्याकोब बेथललाई दीपेन्द्रसिंह ऐरीले आउट गरे । तर, अन्तिम ओभरमा करण केसीले तीन छक्कासहित २३ रन दिएपछि नेपालले १८५ रनको चुनौतीपूर्ण लक्ष्य पायो ।
अनुभव र संरचनाका कोणले इंग्ल्यान्ड नेपालभन्दा फेबरमै भएको टिम हो । त्यसमाथि यति ठूलो लक्ष्य- नेपालले पूरा गर्ने सायदै कसैले कल्पना थियो । तर, खेल मुम्बईमा भए पनि त्यहाँ जता पनि नेपाली दर्शक मात्र थिए । मैदान नेपाली झण्डा र नेपाली टिमको जर्सीले भरिएको थियो । मैदानमा उपस्थित नेपाली समर्थक पिचमा नेपाली खेलाडीले गरेको प्रदर्शनबाट निरास त भएनन्, तर खुसीले उफ्रिने अवसर पनि आएन ।
१८५ रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमा सीमित भयो । नेपाललाई अन्तिम तीन ओभरमा जितका लागि ४६ रन आवश्यक थियो । क्रिजमा आरिफ शेख र लोकेश बम थिए । यसबेला खेल नेपालको हातबाट फुत्किसकेको जस्तो अवस्था थियो । तर, जोफ्रा आर्चरको पहिलो लिगल बलमा छक्का प्रहार गरेपछि नेपाल खेलमा फर्किने आशा जाग्यो । तर लगत्तै उनी आउट भए । तर त्यही ओभरमा लोकेश बमले थप २ छक्का प्रहार गर्दै २२ रन बटुलेपछि खेल रोमाञ्जक बन्यो । १९ औँ ओभरमा नेपालले १४ रन जोडेर एक विकेट गुमाउँदा अन्तिम ओभरमा १० रन मात्र चाहिएको थियो । नेपालले कठिन अवस्थाबाट निकालेर जितको अवस्थासम्म ल्याइपुर्यो । तर, अन्तिम ६ बलमा १० रन बनाउन नसक्दा नेपाल ऐतिहासिक जितबाट विमुख बन्न पुग्यो ।
लोकेश बमले जसरी आर्चरलाई छक्का प्रहार गरे, दीपेन्द्रसिंह ऐरी जसरी आदिल रशिदलाई प्रहार गरे, त्यसले नेपाली टिमको फाइटिङ स्प्रिट विश्वसामु उजागार भयो । अनि इंग्ल्यान्डको जितभन्दा नेपालको हार चर्चित बन्यो । बेलायती समाचार माध्यमहरूले नेपाल र इंग्ल्यान्डबीच भएको खेललाई प्रमुखताका साथ कभरेज गरेका छन् ।
द टाइम्सको शीर्षक छ- टी–२० विश्वकप: उद्घाटन खेलमै नेपालको अन्तिम बलको डर पार गर्दै इंग्ल्याण्ड जोगियो
द गार्डियनले लेखेको छ- नेपालको कडा चुनौतीपछि राहत महसुस गर्दै करनले भनेः ‘हार्नु परे भयावह हुने थियो’
यस्तै द टेलिग्राफले लेखेको छ- इंग्ल्यान्डको अन्तिम बलसम्म पुगेको विश्वकप थ्रिलरको तनावपूर्ण उत्कर्ष विश्लेषण
नेपालको खेले हेरेपछि स्वयं इंग्ल्यान्डका खेलाडीले पनि प्रशंसा गरेका छन् । कप्तान ह्यारी ब्रुक, फिल साल्टदेखि खेलका प्लेयर अफ द म्याच विल ज्याक्ससमेतले नेपालको प्रशंसा गरेका छन् ।
सिक्सर किंग्सका नामले चर्चित टी २० क्रिकेटका विशेषज्ञ ब्याट्सम्यान भारतीय खेलाडी युवराज सिंहदेखि कुनै बेला बलको रफ्तारले क्रिकेटजगतका डरको माहौल बनाएका दक्षिण अफ्रिकी फास्ट बल डेयल स्टेनले पनि नेपाली टिमको प्रशंसा गरेका छन् । उनले त नेपालले मौका दिए नेपालमा सेवा गर्ने इच्छा व्यक्त गरेका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) का लगभग सबै फ्रेन्चाइजी टिमले समेत प्रशंसा गरेका छन् ।
२०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा दक्षिण अफ्रिकासँग नेपालले देखाएको फाइटिङ स्प्रिटपछि विश्व क्रिकेटमा आफ्नो धाक जमाएको नेपालले इंग्ल्यान्डसँगको खेलपछि त्यसलाई थप उचाइमा पुर्याएको छ ।
हारेको खेलमा नेपालले बनाएका रेकर्ड
तेस्रो विश्वकप खेलिरहेको नेपालले हालसम्म ७ वटा खेल खेलेको छ । जसमा दुई जित, चार हार र एक नतिजाविहीन छन् ।
इंग्ल्यान्डसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुईवटा कीर्तिमान बनाएका छन् । उनले २ हजार रन पूरा गरेका छन् । उनी नेपालका लागि यो माइलस्टोन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । साथै उनी विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी पनि बनेका छन् । उनले सोमपाल कामीको कीर्तिमान तोडेर विश्वकपमा ८ विकेट लिएका छन् ।
यस्तै यो खेलमा ओपनर आसिफ शेख र कुशल भुर्तेलले गरेको ३७ रनको साझेदारी पनि विश्वकपमा नेपालको उच्च साझेदारी हो । यस्तै कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीच तेस्रो विकेटका लागि ८२ रनको साझेदारी भयो । यो विश्वकपमा कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो। यो जोडीले सन् २०१४ को विश्वकपमा पारस खड्का र ज्ञानेन्द्र मल्लले बनाएको ८० रनको साझेदारीको कीर्तिमान तोडेका हुन् ।
यस्तै विश्वकपकमा डेब्यु र पहिलो बलमै विकेट लिने कीर्तिमान स्पिनर शेर मल्लले बनाएका छन् ।
समूह सी मा रहेको नेपालले अब इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्नेछ । नेपालले कम्तीमा २ खेल जिते मात्र सुपर एटमा पुग्ने समीकरण बन्नेछ । तीनै खेल जितेमा सुपर एटमा जाने सम्भावना बलियो हुनेछ । त्यति बेला पनि रन रेट र अरु खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । अहिले विभिन्न चार समूहमा २० टिम प्रतियोगितामा छन् । हरेक समूहबाट शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् ।