आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा नेपाल जीतविहीन बनेको छ ।

बुधबार दुबईको यूएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टीम यूएईसँगको ४ विकेटको हारसँगै नेपालको यात्रा जीतविहीन हुँदै टुंगिएको हो ।

नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । यूएईको जीतमा मुहम्मद सहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

मुहम्मद वसिमले ७३ बलमा ४ चौका र ३ छक्कासहित ७६ रन थपे । यी दुईले ६८–३ को स्थितिबाट १४७ रनको साझेदारी गर्दै यूएईलाई जीतनजिक पुर्‍याएका थिए । सोहेब खानले २९, कप्तान आलिसान सराफुले १८ र हर्षिक कौसिकले १३ रन बनाए ।

नेपालका करण केसीले ३ विकेट लिए । नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल खडा गरेको थियो ।

यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । ६८ बल खेलेका उनले सात चौका प्रहार गरे । मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा १ चौका र ३ छक्कासहित ४६ रन बनाए ।

ओपनर आसिफ सेखले ४८ बलमा ४ चौकासहित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो । १०औं नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानले अविजित १५ रन जोडे ।

कुशल मल्ल र सन्दीप लामिछानले नवौं विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *