बैतडी —  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीको विकासलाई तीव्र बनाउने प्रतिबद्धता जनाउँदै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्ने तयारी भएको बताए।

 आज गृह जिल्ला बैतडीको  मेलौलीमा आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले भारत–चीनबीच भएको लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिको विषयमा नेपालले आपत्ति जनाएको स्पष्ट पारे। उनले भने — “नेपालसँग परामर्श नगरी नेपाली भूमिमा व्यापारिक मार्ग खोल्ने सहमति स्वीकार्य छैन। प्रधानमन्त्री ओलीले यो विषय चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङसँग राख्नुभएको छ र सहयोगको अपेक्षा गरिएको छ।”

उनका अनुसार चीनसँगै प्रधानमन्त्रीको भारत भ्रमणमा पनि यो विषयलाई प्राथमिकतामा राखिनेछ। साथै, उनले बैतडीसँग प्रत्यक्ष सरोकार राख्ने महाकाली करिडोर, दोधारा चाँदनी सुक्खा बन्दरगाह र पञ्चेश्वर परियोजनालाई सरकारको मुख्य प्राथमिकतामा रहेको उल्लेख गरे।

भण्डारीले भने — “पञ्चेश्वर परियोजना अब कार्यान्वयनमा जाने तयारी भइरहेको छ। सम्भवतः यस वर्ष नै सन्धिलाई कार्यान्वयन गरेर अगाडि बढ्छौं, जसका लागि भारतको सहमति पनि आवश्यक छ।”

यसका साथै उनले बैतडीको समग्र विकासका लागि आफू लागिपरेको बताए। उनले भने, ‘बैतडीको विकासका लागि थुप्रै बजेट हुने गरेको भए पनि कार्यान्वयनमा समस्या हुँदै आएको छ ।

यसैबीच उनले बैतडीमा भइरहेका विकास कार्य समयमै सम्पन्न हुन नसक्नुमा ठेकेदारको लापरबाही र स्थानीय विवाद जिम्मेवार रहेको बताए। मन्त्री भण्डारीले समस्या समाधानमा स्थानीय नेतृत्व र नागरिक स्वयं सक्रिय हुनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *