२६ असोज, काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप एसिया–ईएपी छनोटको सुपर सिक्स अन्तर्गत नेपालले यूएईलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरी निर्णायक बने — उनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए र एक रनआउट गर्दै खेलको पासा नेपालतर्फ मोडे।

अल अमेरात क्रिकेट ग्राउण्डमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका थिए। नेपालले ओपनर आसिफ शेखको ५१ रनको अर्धशतकमा ६ विकेटको क्षतिमा १४० रन बनायो।

१४१ रनको लक्ष्य पछ्याएको यूएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमै रोकियो। अन्तिम ओभरमा दीपेन्द्रको सटीक बलिङले यूएईलाई जितको सपनाबाट वञ्चित गरायो।

कप्तान रोहित पौडेलले खेलपछि भने,

“१४० रन धेरै थिएन, तर हाम्रो बलिङ उत्कृष्ट रह्यो। दीपेन्द्रले अन्तिम ओभरमा अद्भुत नियन्त्रण देखाए र टोलीलाई जिताए।”

दीपेन्द्र ब्याटिङमा १ रनमै आउट भएपनि बलिङ र फिल्डिङमा चम्किए। कप्तान रोहितले उनलाई ‘फुल प्याकेज खेलाडी’ भन्दै प्रशंसा गरे।

जितपछि दीपेन्द्रले भने,

“यूएईसँगको जितबाट म एकदमै खुसी छु। विश्वकप पुग्नका लागि यस्तै प्रदर्शन निरन्तर गर्नुपर्छ।”

‘मुटु ढुकढुक भइरहेको थियो, म नै बलिङ गरिरहेको थिएँ,’ खेलपछि ऐरीले भने,‘तर, कन्फिडेन्ट त ल्याउनुपर्‍यो। एक छक्का गयो, त्यसपछि योजना परिवर्तन गरेँ र योर्कर फ्याँके। डर त लागेको थियो, तर संयमता अपनाएँ।’

उनको संयमता र रणनीतिले नै खेलको पूरा मोड बदलिदियो।

त्यस्तै बलर सोमपाल कामीले पनि उत्साह पोख्दै भने,

“यूएईविरुद्धको जित विशेष रह्यो। हामी यहाँ ट्रफी जित्न आएका हौं, र हामी विश्वासका साथ भन्छौं — जित्छौं पनि।”

यस जितसँगै नेपालले सुपर सिक्समा ४ अंक जोड्दै ओमानसँगै समान अंकमा विश्वकप नजिक पुगेको छ।

यूएईका अलिशान सराफुले ५८ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन्। अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा दीपेन्द्रले केवल ९ रन मात्र दिए।

नेपालका आसिफ शेखले ४७ बलमा ५१ रन, सन्दीप लामिछाने र गुल्सन झाले २–२ विकेट लिएका थिए।

यो जितसँगै नेपालले यूएईविरुद्धको लगातार हारको शृंखला तोड्दै आगामी टी–२० विश्वकपका लागि ठूलो कदम अघि बढाएको छ।

जितसँगै नेपाल सुपर सिक्समा ४ अंकका साथ ओमानसँग बराबरीमा पुगेको छ। अब सोमबार हुने खेलमा नेपाल कतारसँग भिड्नेछ। त्यो खेल जिते नेपाल फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेसम्म पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *