आयोजक श्रीलंका जारी टी–२० विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ। बुधबार राति सम्पन्न सुपर–८ को छैटौँ खेलमा न्युजिल्यान्डसँग ६१ रनको फराकिलो अन्तरले पराजित भएसँगै श्रीलंकाको विश्वकप यात्रा समाप्त भएको हो।

कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर श्रीलंकाले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। 

१६९ रनको लक्ष्य पछ्याएको श्रीलङ्काली टोली २० ओभरमा ८ विकेट गुमाएर मात्र १०७ रनमा समेटियो। न्युजिल्यान्डका रचिन रवीन्द्र ‘प्लेयर अफ द म्याच’ घोषित भए।

न्युजिल्यान्डको जितमा कप्तान मिचेल सान्टनर र कोल म्याकोन्चीको महत्वपूर्ण योगदान रह्यो। एक समय ८४ रनमा ६ विकेट गुमाएर संकटमा परेको न्युजिल्यान्डका लागि यी दुई ब्याटरले सातौँ विकेटका लागि ४७ बलमा ८४ रनको कीर्तिमानी साझेदारी गरे।

 यो न्युजिल्यान्डका लागि टी–२० अन्तर्राष्ट्रियमा सातौँ विकेटका लागि भएको अहिलेसम्मकै ठूलो साझेदारी हो। सान्टनरले २६ बलमा ४७ रन बनाए भने म्याकोन्ची ३१ रनमा अविजित रहे। त्यस्तै रचिन रवीन्द्रले ३२ रनको योगदान दिए।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाको सुरुवात निकै खराब रह्यो। म्याट हेनरीले पावरप्लेमै श्रीलंकालाई ठूलो झट्का दिए। उनले पहिलो बलमै ओपनर पथुम निसान्कालाई शून्यमा बोल्ड गरे भने तेस्रो ओभरमा चरिथ असालंकालाई ५ रनमा आउट गराए।

मध्यक्रममा रचिन रवीन्द्रले घातक बलिङ गर्दै श्रीलंकालाई खेलमा फर्कने कुनै मौका दिएनन्। उनले दुषन हेमन्थ, दसुन शनाका, कुशल मेन्डिस र पवन रत्नयाके गरी ४ विकेट लिए। श्रीलंकाका लागि कामिन्डु मेन्डिसले सर्वाधिक ३१ रन बनाए पनि अन्य ब्याटरले क्रिजमा टिकेर खेल्न सकेनन्।

यो जितसँगै ३ अंक जोडेको न्युजिल्यान्ड समूह–२ को अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ र उसको सेमिफाइनल पुग्ने सम्भावना जीवितै छ। उ अब श्रीलंकाले आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई हराए पनि उसको अंक शीर्ष ४ मा पुग्न पर्याप्त हुने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *