आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँदै दुई अंकका साथमा नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।

ओमानको अल अमरेत क्रिकेट रङ्गशालमा टस जितेर फील्डिङ रोजेको नेपालले सुरुमा जापानलाई १३१ रनमा समेटेको थियो। जबाफमा मध्यक्रममा केही सङ्घर्ष गरे पनि नेपालले १८ ओभरमा खेल पूरा गर्‍यो।

नेपाल र जापान दुबैले लीग चरणमा कुवेतलाई पराजित गर्दै ‘सूपर सिक्स’मा प्रवेश गरेकोले यो खेलको अङ्क ‘सूपर सिक्स’मा जोडिने हुँदा दुवै टोलीका लागि आजको जितको २ अङ्कको महत्त्व थियो।

जापानले उत्कृष्ट सुरुवात गरे पनि नेपालले पछि दबाव बनाउँदै जापानलाई १३१ रनमा रोक्न सक्यो।

जबाफमा गुलशन झा र दीपेन्द्रसिंह ऐरीले छैटौँ विकेटका लागि अविजित ४२ रनको साझेदारी गरेपछि नेपालले १८ औँ ओभरमा खेल आफ्नो पक्षमा पार्न सफल भयो।

कुवेतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले टोलीलाई सही सुरुवात दिलाए।

नेपाली बलरहरूले ‘पावर प्ले’मा विपक्षीविरुद्ध कसिकसाउ बलिङ गर्दै खेललाई नियन्त्रणमा राखेका थिए। जापानले चौथो ओभरको पहिलो बलमा आएर पहिलो चौका प्रहार गरेको थियो।

तर कप्तान फ्लेमिङले इनिङ्स सम्हाल्दै ६० रनको सानदार पारी खेले। सो क्रममा उनले ४६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए।

यसै गरी इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन बनाए।

दोस्रो विकेटका लागि फ्लेमिङ र रहमानबीच बनेको ८६ रनको साझेदारीले टोलीले स्कोरबोर्डमा धेरै रन जोड्ने सङ्केत गरेको थियो।

यस क्रममा १३ ओभरको खेल चलिरहँदा जापान ९७-२ को बलियो स्थितिमा पुगिसकेको थियो।

तर त्यसपछि भने जापानी ब्याटरहरूले गति बढाउन सकेनन्।

गुलशन झाले फ्लेमिङको विकेट लिएसँगै खेल नेपालको नियन्त्रणमा आएको देखिएको थियो।

नेपालका लागि गुलशन र सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र नन्दन यादवले समान एक/एक विकेट लिएका थिए।

दोस्रो इनिङ्स

नेपाली ब्याटरहरूले टोलीलाई आक्रमक सुरुवात दिलाए।

ओपनर कुशल भुर्तेलले २१ तथा आशिफ शेखले ३८ रन बनाएपछि नेपालले ७.२ ओभरमा ६३ रन जोडेर नेपाललाई आरामदायी विजयतिर डोहोर्‍याउन खोजेका थिए।

तर त्यसपछि तीन विकेट फटाफट झरेपछि नेपाली टोली दबावमा देखियो।

कप्तान रोहित पौडेल १८ रनमा आउट भए भने सन्दीप जोरा पाँच र कुशल मल्लले चार रन मात्र बनाउन सके।

त्यस क्रममा केही बेर जापान खेलमा हाबी हुन खोजेको देखिएको थियो।

अन्ततः गुलशन झा र दीपेन्द्रसिंह ऐरीको साझेदारीले त्यसलाई नियन्त्रण गर्‍यो र नेपालले आफ्नो पक्षमा नतिजा निकाल्यो।

वरीयता

नेपालले आज कुवेतविरुद्धको खेलमा खेलेका खेलाडीमा कुनै परिवर्तन गरेन।

टी-२० आई वरीयतामा नेपाल १८ औँ र जापान ४३ औँ स्थानमा छन्। दुई देशका राष्ट्रिय टोलीबीच भएको यो यो पहिलो टी २० आई हो।

जितसँगै नेपालले समूह ‘बी’को विजेताको रूपमा सुपर सिक्स चरणमा स्थान सुरक्षित गरेको छ।

अब नेपालले आइतबार समूह ‘ए’को विजेता संयुक्त अरब इमिराट (यूएई) सँग सुपर सिक्सको पहिलो खेल खेल्नेछ।

सुपर सिक्समा एशोसियट राष्ट्रको एल क्लासिको भनेर चिनिने यूएईसँग नेपालले पहिलो खेल खेल्नेछ। 

नेपाल र यूएईको खेल निकै रोमाञ्चक हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *