मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहँदा आज देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति दुवै समयमा पहाडी तथा तराईका भू-भागमा मध्यम वर्षाको सम्भावना छ भने केही प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरैजसो स्थानमा र मधेश प्रदेश लगायत तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभरको मौसममा बदली कायम रहनेछ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ भने बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति विशेषगरी कोशी प्रदेशको पहाडी भू-भाग तथा मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *