काठमाडौँ- नेपाली क्रिकेट टोलीले यूएईको भिसा पाएको छ। भिसा प्राप्त गरेसँगै नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
आइतबार क्यानले एक विज्ञप्ति जारी गर्दै भिसा प्राप्त भइसकेको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले यूएईले नेपाली टोलीलाई भिसा प्रदान गरिसकेको र सोमबार त्यतातर्फ प्रस्थान गर्ने जानकारी दिए ।
क्रिकेट टोली गएको भदौ ३ मा नै यूएई प्रस्थान गर्ने तयारीमा थियो। तर नेपालमा चलेको जेनजी आन्दोलनका कारण यूएईले भिसा दिन ढिलाई गरेको थियो। क्याले विभिन्न अन्तरार्ष्ट्रिय समुदायसँग समेत पहल गरिदिन अनुरोध गरेको थियो।
वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहाँमा तीन खेलको ट्वान्टी–२० शृंखला खेलेपछि नेपाली टोली ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जाने कार्यक्रम छ । त्यसपछि नेपालले पुनः यूएईमै आएर यूएई र अमेरिकासँग लिग २ मा प्रतिस्पर्धा गर्नेछ ।
मुख्य प्रशिक्षक स्टुवार्ट ल भने शुक्रबार नै दुबई पुगिसकेका छन् । उनका अनुसार स्ट्रेन्थ एन्ड कन्डिसन प्रशिक्षक अब्दुर सतार पनि भारतबाटै दुबई पुग्ने कार्यक्रम छ ।
