काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले राजीनामा नदिने भएका छन् ।

माघ ६ गते प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुअघि आज बालेनले राजीनामा दिने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा आज दिउँसो २ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारी रहेको जनाइएको थियो । तर बालेनले पदबाट राजीनामा नदिने स्रोतको दाबी छ ।

रास्वपाले आजको बैठकबाट उम्मेदवारको टुंगो लगाउँदै छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम छ ।

झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीपछि रास्वपाले सम्पर्क कार्यालय स्थापना गरिसकेको जनाइएको छ ।

गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र बालेन आगामी प्रधानमन्त्री हुनेसहितका सम्झौता गरेका थिए । त्यसपछि बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न लागेका हुन् ।

बालेनले उम्मेदवारी दर्ता गर्नुअघि महानगरबाट राजीनामा दिने चर्चा भए पनि राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्न मिल्ने भएसँगै उनी व्याक भएको स्रोतको भनाइ छ ।

‘कानुनमा निर्वाचित जनप्रतिनिधिले राजीनामा दिनुपर्ने कतै उल्लेख छैन,’ स्रोतको भनाइ छ, ‘उम्मेदवारी दर्ता गरेसँगै स्वत: पदमुक्त हुने भएकाले यो आवश्यक छैन ।’

तोकिएको मितिमा फागुन २१ मा चुनाव हुने भनिए पनि विकसित राजनीतिक घटनाक्रमले केही प्रभाव पार्छ कि भन्ने विषयमा समेत बालेन सचेत रहेको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *