बैतडी — बैतडीको सिगास गाउँपालिका–४, कान्धारस्थित आधारभूत स्वास्थ्य केन्द्रकी अनमी जानकी पुजाराले स्वास्थ्यखबर हेल्थ अवार्ड–२०८२ अन्तर्गत उत्कृष्ट नर्स अवार्ड प्राप्त गरेकी छन्।

गत महिना उनले उपकरण नभएको अवस्थामा लगातार ६ घण्टासम्म मुखबाट सास दिँदै निस्सासिएको नवजात शिशुको जीवन जोगाएकी थिइन्। त्यो असाधारण साहस र मानवताका कारण उनी देशभर चर्चामा आइन्।

उनको यो कार्यप्रति तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप कुमार पौडेलले समेत फोन गरेर बधाई दिँदै “देशलाई तपाईं जस्ता स्वास्थ्यकर्मीको आवश्यकता छ” भन्दै उत्साह बढाएका थिए।

काठमाडौंमा आयोजित १३औं हेल्थ अवार्ड कार्यक्रममा सेवाभाव, साहस र मानवताको कदर गर्दै पुजारालाई उत्कृष्ट नर्सको सम्मान गरिएको हो।

पुरस्कार ग्रहणपछि उनले भनिन्– “यो पुरस्कार मेरो मात्र होइन, दुर्गममा दिनरात सेवा गर्ने सबै स्वास्थ्यकर्मीको हो। यसले अझै जिम्मेवारीपूर्वक काम गर्ने प्रेरणा दिएको छ।”

स्वास्थ्यखबरपत्रिकाको १६औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित १३औं हेल्थ अवार्ड कार्यक्रममा विभिन्न ९ विधामा अवार्ड वितरण गरिएको थियो।

पुजाराले विगत करिब ६ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत रहँदै दुर्गम क्षेत्रमा सुत्केरी सेवा, जोखिमपूर्ण प्रसूति र नवजात स्याहारमा निरन्तर योगदान दिँदै आएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *