बैतडी, असोज ७ ।बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।

बिष्ट बिहीबार दिउँसो करिब ४ बजेतिर घरबाट सिउडे जाने भन्दै हिँडेका थिए। साँझसम्म घर नफर्केपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए। खोजीका क्रममा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोड नजिक सडकबाट लगभग १०० मिटर तल बिष्टको शव फेला परेको प्रहरीले जनाएको छ।

बिष्टले चलाइरहेका सुपर ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा भेटिएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *