काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले पुनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरेकी थिइन्।
रोजगारी सिर्जना, नवप्रवर्तन र राष्ट्रिय आविष्कार केन्द्रको स्थापना जस्ता अनुकरणीय कामका कारण पुन नेपालको वैज्ञानिक तथा सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्वका रूपमा चिनिन्छन्।
को हुन महावीर पुन
महावीर पुन म्याग्दी जिल्लाको नाङी गाउँमा जन्मेका हुन्। उनले करिब १२ वर्ष शिक्षक भएर काम गरेका थिए। पछि अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक तह पूरा गरे।
सन् १९९२ मा उनी नेपाल फर्के र आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरू गरे।
उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन्। उनले सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार पाएका थिए। साथै, नेपाल सरकारले उनलाई २०७९ सालमा एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो।
राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक चर्चित छ यो पुस्तक पुनले देशभर बिक्री गर्दै आएका थिए।