४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर अवरुद्ध हुने भएको छ। चितवन प्रहरीले दिएको जानकारीअनुसार निरन्तर पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न नसकिएको हो।

जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार आज रातभर पनि सडक दुईतर्फी बन्द हुने निश्चित भएको छ।

‘पहिरो लगातार खसिरहेको छ, त्यसैले आज रातभर सडक खोल्न सकिएन,’ उनले भने, ‘भोलि बिहान ४–५ बजेदेखि काम सुरु हुन्छ।’

उनका अनुसार आइतबार बिहान काम सुरु गरे पनि मध्यान्ह १२ बजेसम्म आवागमन सहज हुने अवस्था नदेखिएको हो।

चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझदेखि लगातार पहिरो खसेको छ। त्यसयता मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्।

शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीहरूको समन्वयमा यात्रुहरूलाई पानी र खाद्यान्न वितरण गरिएको थियो। एसपी पुरीका अनुसार राजमार्ग छेउका व्यवसायीलाई पनि यात्रु सहजीकरणमा सहयोग गर्न आग्रह गरिएको छ।

तुइन खोला मुग्लिन बजारदेखि करिब २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ। राजमार्ग बन्द हुँदा दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ।

मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सम्बन्धित निकायसँग आपत्कालीन बैठक गरेका छन्। मन्त्री घिसिङले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न र वैकल्पिक व्यवस्था मिलाउन निर्देशन दिएको उनका सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *