हमासमा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी आमा पदमा जाेशीले इजरायली राष्ट्रपति इसाक हरजगसँग भेटवार्ता गरेकी छन् ।  

आइतबार विपिनकी आमा पदमा जोशी,बहिनी पुष्पा जोशीका साथै इजरायलस्थित नेपाली राजदूत धन प्रसाद पण्डितले आज इजरायली राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

भेटवार्तामा विपिनकी आमाले छोराको शीघ्र रिहाइको लागि पहल गरिदिन इजरायली राष्ट्रपतिसमक्ष आग्रह गरेकी छन् । यस्तै विपिनकी बहिनी पुष्पाले आफ्नो दाजु(विपिन) एक विद्यार्थीको रूपमा इजरायल आएको बताउँदै रिहाइका लागि हरसम्भव पहल गर्न आग्रह गरिन् । 

त्यस अवसरमा राजदूत पण्डितले समेत पुनः विभिन्न तवरबाट पहल गरी विपिन जोशीको स्थितिको बारेमा जानकारी गराइदिन आग्रह गरे । राष्ट्रपतिले हरजगले विपिन आफ्नै नागरिक जस्तो लागेको बताउँदै रिहाइको लागि सरकारले प्रयास गरिरहेको बताए । 

आजै उनीहरुले इजरायली संसद्का अध्यक्ष अमिर ओहनासँग समेत भेटघाट गरी बिपिन जोशीको रिहाइको लागि आग्रह गरेका थिए ।  

एक साताअघि विपिनका आमा पदमा र बहिनी पुष्पा इजरायल गएका थिए । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले उनीहरुलाई आफ्नो देश लगेको हो। 

‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *