ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा समेटियो । कतारसामु नेपाली बलरले शानदार प्रदर्शन गरे ।
कुनै समय जिततर्फ लम्बिएको कतारलाई नेपाली बलरले रोक्न सके । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । ३.५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिए ।
कतारलाई अन्तिम ओभरमा जितका निम्ति १० रनको आवश्यकता थियो । ६ बलमा १० रन जोगाउन नेपालका कप्तान रोहित पौडेलले बलिङ जिम्मेवारी सन्दीपलाई दिएका थिए । सन्दीपले पहिलो र दोस्रो बल लगातार डट फ्याके ।
लगातार दुई बल डट हुँदा दबाब बढेपछि तेस्रो बलमा कतारका अमिर फाकरुकले ‘स्टेप अप’ गर्दै ठूलो प्रहार गर्ने प्रयास गरे पनि बल भेट्टाउन सकेनन् । जसमा विकेटकिपर आसिफ सेखले सहजै ‘स्टम्प’ गर्दै फारुकले पभेलियनको दिशा देखाए ।
चौथो बलमा ओवाइस अहमेदले एक रन लिए । पाँचौँ बलमा मुजिब उर रहमानले दुई रन लिए । जसबाट अन्तिम बलमा कतारलाई जितका निम्ति सात र ‘टाई’ गर्न ६ रनको आवश्यकता थियो । तर, अन्तिम बल वाइड भए पनि आसिफले ‘स्टम्प’ गर्दै कतारका अन्तिम ब्याटर रहमानलाई आउट गरेसँगै नेपालले अर्को रोमाञ्चक जित निकालेको हो ।
सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतारले १९.५ ओभरमा सबै विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।
कतारका ओपनर इमाल लियानागेले सर्वाधिक ५६ रन बनाए । उनले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, जुबाएर अलीले ५५ बलमा दुई चौका र एक छक्कासहित ५२ रन थपे । मुहम्मद असिमले पाँच बलमा १० रन जोडे ।
नेपालका कप्तान रोहितले सर्वाधिक ५८ रन बनाए । उनले ४१ बलमा सात चौका र एक छक्का प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २६ रन थपे । ४८–३ को स्थितिबाट रोहित र दीपेन्द्रले चौथो विकेटका निम्ति ६२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।
तर, १५औँ ओभरमा अन्तिम बलमा दीपेन्द्र आउट भएसँगै नेपालको ब्याटिङ लय पुनः बिग्रिएको थियो ।
यी दुईबाहेक गुल्सन झाले आठ बलमा दुई छक्कासहित १६ रन बनाए । सोमपाल कामीले १४ र ओपनर आसिफ सेखले ११ रन जोडे ।
बलिङमा कप्तान मिर्जा मोहम्मद बेग र ड्यानियल आर्चरले समान तीन विकेट लिए। आर्चरले ३ ओभरमा २२ रन दिंदै किफायती बलिङ गरे। बेगले ४ ओभरमा २९ रन दिए।
नेपालले यो जितमा ६ अंक बनाएको छ। कतारको भने लगातार तेस्रो हार हो। उसले सुपर सिक्समा अंकको खाता खोल्न सकेको छैन । अब नेपालले ओमानसँग खेल्नेछ।