वासिङ्टन डीसी । अमेरिकामा यतिबेला शटडाउन चलिरहेको छ । कंग्रेसमा रिपब्लिकन र डेमोक्रेटहरू खर्च विधेयक पारित गराउने विषयमा सहमतिमा पुग्न सकेका छैनन् । बजेट अभावमा यस वर्षको अक्टोबर १ देखि अमेरिका शटडाउनमा छ ।
शटडाउनको अवस्थामा अत्यावश्यक बाहेक सबै सरकारी कामकाज ठप्प छन् । ट्राफिक कन्ट्रोलरको अभाव हुँदा देशभरका विमानस्थलमा उडान ढिलाइ वा रद्द हुने क्रम बढेको छ ।
शनिबार अमेरिकामा १ हजार ४०० भन्दा बढी उडानहरू रद्द भएका छन् । फ्लाइट ट्र्याकरका अनुसार अरू ६ हजार उडानहरूमा ढिलाइ भएका छन् । शुक्रबार ७ हजार उडानमा ढिलाइ भएको थियो ।
हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिनै काम गरिरहेको स्थिति भएकोले संघीय उड्डयन प्रशासन (एफएए)ले यस हप्ता देशका ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १०% ले घटाउने घोषणा गरेका थिए ।
नियन्त्रक अभावले उडानमा उल्लेखनीय रूपमा असर गरेको छ । तलब नपाउने भएपछि केही हवाई ट्राफिक नियन्त्रकहरू कि बिरामी बिदामा बसेका छन् वा अन्यत्र काम गरिरहेका छन् ।