काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि अस्ट्रेलियाका चर्चित ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन्।
आइतबार उनलाई सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले स्वागत गरेका थिए। यसअघि नै सुदूरपश्चिम रोयल्सबाट खेल्ने विदेशी खेलाडीहरू जोस ब्राउन र स्कट कुग्लिन पनि नेपाल आइसकेका छन्।
३५ वर्षीय लिन आफ्नो आक्रामक ब्याटिङ शैलीका लागि विश्वभर चिनिन्छन्। उनले अस्ट्रेलियाका लागि ४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल्दै ७५ रन बनाएका छन्। १८ वटा टी-२० अन्तर्राष्ट्रिय खेलमा उनको नाममा २९१ रन छ। अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ४४ रन रहेको छ।
टी-२० फ्रेन्चाइज क्रिकेटमा लिनको प्रदर्शन निकै प्रभावशाली छ। उनले हालसम्म आठ हजारभन्दा बढी रन बनाइसकेका छन्, जसमा ५ शतक र ५५ अर्धशतक समावेश छन्।अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) मा उनी सर्वाधिक रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन्।
उनले इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत विश्वका धेरै फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छोडिसकेका छन्।
यस्तो छ सुदूरपश्चिम रोयल्सको टोली:
दिपेन्द्र सिंह ऐरी, स्कट कुग्लिन, आरिफ शेख, क्रिस लिन, बिनोद भण्डारी, हर्मीत सिंह, अविनाश बोहरा, जोस ब्राउन, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद र दिपेन्द्र थापा
सुदूरपश्चिम रोयल्सले अनुभवी र युवा खेलाडीहरूको सन्तुलित टोली बनाएको छ, जसको मुख्य प्रशिक्षकमा जगत टम रहेका छन्।