गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ।
यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहेका बेला उक्त अमेरिकी मध्यस्थताको युद्धविराम र बन्धक सम्झौता औपचारिक रूपमा लागू भएको घोषणा गरिएको थियो।
राष्ट्रपति ट्रम्पले यस सम्झौताले युद्धलाई ‘प्रभावकारी रूपमा समाप्त गर्दै क्षेत्रीय शान्तिको ढोका खोलेको’ बताएका छन्।
यसैबीच हमासको आक्रमणपछि इजरायलबाट बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको खबर इजरायली सेनाले परिवारलाई दिएको छ ।
यद्यपि, उनको परिवारले भने सबै बन्धकहरू रिहा नभएसम्म आशा नमार्ने बताएको छ ।
इजरायली डिफेन्स फोर्सका एक अधिकारीले इजरायलको स्थानीय समयअनुसार सोमबार बिहान साढे ७ बजे भिडियो कन्फरेन्समार्फत विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।
उक्त भिडियो कन्फरेन्समा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा, नेपालमा रहेका उनका ठुलाबाका छोरा दाजु किशोरचन्द्र जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरू सहभागी थिए ।