नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यातायात व्यवसायीहरूलाई तत्काल एम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ।
महासङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सरकारले आवश्यक भौतिक पूर्वाधार र प्रविधिको विकास नगरी एकतर्फी रूपमा एम्बोस्ड प्लेट अनिवार्य गर्ने निर्णय गरेको भन्दै महासङ्घले त्यसको विरोध गरेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत साउनमा सूचना प्रकाशित गरी असोज १ गतेदेखि सबै सवारीसाधनमा एम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनमा लैजान थालेपछि महासङ्घले त्यसको विरोध गरेको हो ।