नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
निगमले आज विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्न लागिएको जनाएको छ ।
निगमका अनुसार शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गरिनेछ ।
आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।
निगमले नियमित रूपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई/तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको प्रष्ट पारेको छ ।
निगमका कार्यकारी निर्देशक भट्टले मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको भन्दै आपूर्तिमा देखिएकाे समस्या समाधान गर्न यस्तो कदम चालेको बताए ।
नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने मुलुक भारतमा समेत सर्वसाधारण उपभोक्तालाई ग्यास प्राप्तिमा समस्या देखिन थालेको विषय आमसञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित भए पश्चात नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको निगमले जनाएकाे छ ।
निगमले नियमित रूपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए तापनि विगत दुई/तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको बताएकाे छ ।
