काठमाडौं ,चैत १२ । रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ । रास्वपा केन्द्रीय समितिको बैठक अहिले घण्टीघरमा बसिरहेको छ । यसअघि केन्द्रीय समितिको बैठकमा बालेनलाई दलको नेता बनाउने प्रस्ताव पनि सर्वसम्मत पारित भएको थियो ।
रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार सभापति लामिछानेको प्रस्तावमा शाहलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । शाहलाई दलको नेता चयन गर्दै बैठक सकिएको रास्वपाले जनाएको छ ।
संसदीय दलको नेता चयन भए संगै रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बन्नका लागि बाटो औपचारिक खुला भएको छ ।
दलको बैठकमा सभापति लामिछानेले बालेनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।
संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था रहेको छ । धारा ७६(१) मा भनिएको छ–राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ ।”
बालेनले प्रधानमन्त्रीको रुपमा शुक्रबार अपराह्न शपथ ग्रहण गर्नेछन् ।