नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित एक विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को अभिलेखअनुसार शाह आधुनिक नेपालको ४३औँ प्रधानमन्त्री हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह गत महिना भएको संसदीय निर्वाचनबाट प्रतिनिधिसभामा चुनिएका हुन्।

राष्ट्रपति पौडेलले शाहलाई शुक्रवार बिहान नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गरेका हुन्।

सो व्यवस्थाअन्तर्गत राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्छन् र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन्छ।

प्रधानमन्त्रीको शपथग्रहणपछि राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराएका थिए।

शपथग्रहण समारोहको आरम्भमा शङ्खनाद गरिएको थियो भने १०८ बटुकहरूले स्वस्तिवाचन र १०८ बौद्ध लामाहरूले मङ्गलपाठ गरेका थिए।

उक्त समारोहमा उपराष्ट्रपति, अन्तरिम प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष सहित वरिष्ठ पदाधिकारीहरू र विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए।

केही पूर्वप्रधानमन्त्रीहरू समेत समारोहमा उपस्थित भए तापनि शेरबहादुर देउवा र केपी शर्मा ओली भने त्यहाँ देखिएनन्।

छत्तीस वर्षीय शाह नेपालको प्रजातान्त्रिक इतिहासमा निर्वाचित कार्यकारी प्रमुख हुने सबैभन्दा कान्छा व्यक्ति हुन्।

प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सबैभन्दा ठूलो दल हो।

प्रतिनिधिसभामा निर्वाचित हुनुअघि काठमाण्डू महानगरपालिकाका मेअर रहेका बालेन त्यसअघि र्‍याप गायकका रूपमा परिचित थिए। पेसाले उनी स्ट्रकचरल इन्जिनिअर हुन्।

झापा-५ निर्वाचन क्षेत्रबाट चुनाव जितेका उनी निर्वाचनको केही साताअघि मात्र रास्वपामा प्रवेश गरेका थिए। त्यतिबेला उनले रास्वपा सभापति रवि लामिछानेसँग आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने गरी सहमति नै गरेका थिए।

काठमाण्डू महानगर प्रमुखका रूपमा साढे तीन वर्ष काम गरेको अनुभव भएका शाहको दलगत राजनीतिक अनुभव यसअघिका प्रधानमन्त्रीको तुलनामा कम छ। तर उनी स्थानीय निर्वाचनका बेलादेखि नै विशेषगरी युवापुस्तामाझ लोकप्रिय रहेका थिए।

उनका समर्थकहरू उनी महानगर प्रमुखका रूपमा रहँदा शिक्षा, सरसफाइ, सम्पदा संरक्षण लगायतका क्षेत्रमा भएका कामहरूको प्रशंसा गर्छन् भने, महानगर प्रमुख हुँदा नगर प्रहरी परिचालन गरेर सडक व्यापारी र सुकुम्बासीमाथि ‘दमन गरेको’ आरोप पनि उनीमाथि लाग्ने गरेको छ।

उनी लाखौँ ‘फलोअर्स ‘साथ सामाजिक सञ्जालमा लोकप्रिय छन्। तर उनले तीखो शब्दमा गर्ने पोस्टहरू बेलाबखत आलोचित बन्ने गरेका पनि छन्।

४३औँ प्रधानमन्त्री

एकीकणपछिको नेपालको आधुनिक इतिहासमा भीमसेन थापालाई पहिलो प्रधानमन्त्री (मुख्तियार) मानेर बालेन्द्र शाहलाई नेपालको ४३औँ प्रधानमन्त्री भनिएको छ।

नेपालको संविधान २०७२ बमोजिम प्रधानमन्त्री बन्ने उनी छैटौँ व्यक्ति हुन्।

प्रधानमन्त्रीको कार्यालयको अभिलेखअनुसार उनी विसं २०४६ मा नेपालमा बहुदलीय व्यवस्था पुर्नस्थापित भएपछि बनेका १६औँ प्रधानमन्त्री हुन्।

को-को बने मन्त्री?

१५ सदस्यीय मन्त्रिमण्डलमा पाँच जना महिला छन्।

मन्त्रिमण्डलमा प्रधानमन्त्री शाहले रक्षा एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका छन्।

अन्य मन्त्रीहरू –

अर्थमन्त्री: स्वर्णीम वाग्ले

गृहमन्त्री: सुधन गुरुङ

परराष्ट्रमन्त्री: शिशिर खनाल

भौतिक, पूर्वाधार तथा यातायात: सुनिल लम्साल

ऊर्जा, जलस्रोत तथा सिँचाइ: विराजभक्त श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन: खड्कराज पौडेल

शिक्षा, विज्ञान, प्रविधि, युवा तथा खेलकुद : सस्मित पोखरेल

स्वास्थ्य, तथा जनसङ्ख्या, खानेपानी : निशा मेहता

सञ्चार तथा सूचना प्रविधि: विक्रम तिमिल्सिना

सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण: प्रतिभा रावल

कानुन, न्याय तथा संसदीय मामिला: सोबिता गौतम

कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण: गीता चौधरी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा: दीपककुमार साह

महिला, बालबालिका तथा जेष्ठ नागरिक: सीता वादी

Leave a Reply

Your email address will not be published. Required fields are marked *