विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजन शनिबारदेखि शुरू हुँदैछ । आईपीएलको यो १९औं संस्करण हो ।

प्रतियोगितामा १० वटा टोली सहभागी छन् । सहभागी टोली चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइर्ज हैदराबाद हुन् ।

प्रतियोगिताका खेलहरू भारतका विभिन्न १२ वटा शहरमा खेलाइने छ । पहिलो दिन शनिबार एक खेल हुनेछ । उद्‌घाटन खेल साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच हुनेछ ।

पहिलो खेल बेंगलुरुस्थित एम. चिन्नस्वामी स्डेडियममा नेपाली समयअनुसार शनिबार साँझ ७:४५ बजे शुरू हुनेछ ।

अघिल्लो संस्करणको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको थियो । यसपटक शनिबार र आइतबार दुई/दुई खेल राखिएको छ भने अन्य दिन एक खेलमात्र खेलाइने छ ।

यो सिजन प्रतियोगितामा कुल ७४ खेल हुनेछ । प्रारम्भिक चरणमा प्रत्येक टोलीले एक–अर्कासँग दुई/दुई खेल खेल्नेछन् । प्रारम्भिक चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली सिधै क्वालिफायर–१ मा प्रवेश गर्नेछन् ।

क्वालिफायर–१ को विजेता सिधै प्रतियोगिताको फाइनलमा पुग्नेछ । अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीबीच भने एलिमिनेटर भिडन्त हुनेछ । एलिमिनेटर चरणको खेलमा विजयी हुने टोलीले क्वालिफायर–२ मा क्वालिफायर–१ को पराजित टोलीसँग भिडन्त गर्नेछ ।

त्यसपछि, क्वालिफायर–२ मा विजयी हुने टोलीले क्वालिफायर–१ मा विजयी हुने टोलीसँग उपाधिका लागि भिडन्त गर्नेछ । लिग चरणको खेल मे २४ तारिखसम्म चल्नेछ । मे २६ तारिखमा पहिलो क्वालिफायर खेल हुनेछ ।

यसैगरी, मे २७ तारिखमा एलिमिनेटर खेल हुनेछ । मे २९ तारिखमा दोस्रो क्वालिफायर खेल खेलिने छ । प्रतियोगिताको फाइनल खेल मे ३१ तारिखमा बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा खेलाइने कार्यक्रम रहेको छ ।

अघिल्लो सिजन रोयल च्यालेन्ज बेंगलुरु पहिलो, पञ्जाब किङ्स दोस्रो, मुम्बई इन्डियन्स तेस्रो, गुजरात टाइटन्स चौथो, दिल्ली क्यापिटल्स पाँचौं, सनराइजर्स हैदराबाद छैटौं, लखनउ सुपर जायन्ट्स सातौं, कोलकाता नाइट राइडर्स आठौं, राजस्थान रोयल्स नवौं र चेन्नई सुपर किङ्स १०औं भएका थिए ।

आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो । पहिलो संस्करणको उपाधि राजस्थान रोयल्सले जितेको थियो । त्यसयता, चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले पाँच/पाँच पटक उपाधि जितिसकेका छन् । कोलकाता नाइट राइडर्सले पनि तीनपटक उपाधि चुमेको छ ।

यसैगरी, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरुले एक/एक पटक उपाधि उचालेका छन् । दोस्रो संस्करणको उपाधि जित्ने डेक्कन चार्जर्स भने हाल अस्तित्वमा छैन ।

यसपटक १० मध्ये एउटा टोली सनराइजर्स हैदराबादमा मात्र विदेशी कप्तान रहेका छन् । हैदराबादका कप्तान प्याट कमिन्स पनि अहिले घाइते छन् । अन्य नौ वटै टोलीका कप्तान भारतीय हुन् । 

चेन्नई सुपर किङ्सका कप्तान ऋतुराज गायकवाड र प्रमुख प्रशिक्षक स्टेफन फ्लेमिङ हुन् । दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेल र प्रमुख प्रशिक्षक हेमाङ बदानी हुन् । गुजरात टाइडन्सका कप्तान शुभमन गिल र प्रमुख प्रशिक्षक आशिष नेहरा हुन् ।

यसैगरी, कोलकाता नाइट राइडर्सका कप्तान अजिनक्या रहाने र प्रमुख प्रशिक्षक अभिषेक नायर हुन् । लखनउ सुपर जायन्ट्समा भने कप्तानको भूमिकामा ऋषभ पन्त र प्रमुख प्रशिक्षकको भूमिकामा जस्टिन लेङ्गर छन् ।

यसैगरी, मुम्बई इन्डियन्सको कप्तान हार्दिक पाण्ड्या र प्रमुख प्रशिक्षक माहेला जयाबर्द्धने हुन् । पञ्जाब किङ्सका कप्तान श्रेयष ऐयर र प्रमुख प्रशिक्षक रिकी पोन्टिङ हुन् । राजस्थान रोयल्सको कप्तान रियान पराग र प्रमुख प्रशिक्षक कुमार सांगाकारा हुन् ।

यसैगरी, रोयल च्यालेन्जर्स बेंगलुरुमा कप्तानको भूमिकामा रजत पाटिदार र प्रमुख प्रशिक्षकको भूमिकामा एन्डी फ्लावर रहेका छन् । सनराइजर्स हैदराबादमा भने प्याट कमिन्स कप्तान र ड्यानियल भेट्टोरी प्रमुख प्रशिक्षक हुन् ।

यसपटक आईपीएलमा सहभागी खेलाडीका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले केही नयाँ नियम पनि जारी गरेको छ । खेलाडीले अभ्यासका लागि आउँदा अनिवार्य रूपमा टोलीको बस नै प्रयोग गर्नु पर्नेछ ।

अभ्यासका क्रममा खेलाडीले आफ्नो परिवारका सदस्यलाई ड्रेसिङ रुममा लैजान पाउने छैनन् । खेलका क्रममा खेलाडीले एलईडी बोर्डतर्फ बल हिर्काउन पाउने छैनन् । एलईडी बोर्ड अगाडि बस्न पनि रोक लगाइएको छ ।

यसैगरी, अरेन्ज क्याप र पर्पल क्याप प्राप्त गर्ने खेलाडीले खेलका क्रममा कम्तीमा शुरूको दुई ओभर अनिवार्य रूपमा उक्त क्याप लगाउनु पर्नेछ । पोष्ट म्याच कन्फरेन्समा खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई चप्पल लगाउन प्रतिबन्ध लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *