नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताको बैठकले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई पूर्वाग्रहप्रेरित भनेको छ।

बैठकपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिका भन्दै जारी गरेको विज्ञप्तिमा ओली-लेखकको रिहाको माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “आज बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध साध्ने उद्देश्यबाट सरकारले पक्राउ गरेको छ।”

साथै ओली पक्राउको पनि भर्त्सना गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “संविधान र प्रचलित कानुनविपरीत गरिएको यस कार्यको हामी भर्त्सना गर्दछौँ।”

गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा पक्राउ गरेकामा यसलाई बदनियतपूर्ण कार्य भनेको छ। यसले गम्भीर संवैधानिक र कानुनी प्रश्न उब्जाएको उल्लेख गरिएको छ।

“आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिवेदनको पेज नं. ७२१ को सिफारिसबमोजिम अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएकोमा कुनै पनि प्रक्रिया पूरा नगरीकन तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप छ, राजनीतिक रुपमा पूर्वाग्रह प्रेरित छ,” विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *