दार्चुला, चैत १३ । दार्चुलामा सडक दुर्घटना भएको छ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ ओसिलमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। काँडापारीबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो।
कामको सिलसिलामा उनीहरू काँडापारीबाट ओसिलतर्फ गइरहेका थिए।
प्रहरीका अनुसार ६ जना सवार सिँचाई कार्यालय दार्चुलाले भाडामा प्रयोग गरेको सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो।
मङ्गलवार बिहान करिब ९ बजे आसपासमा भएको दुर्घटनामा घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ को काँडापारीका जिप चालक २२ वर्षका प्रकाश ठगुन्ना, जिपमा सवार २५ वर्षीय विक्रम महर, ५० वर्षीय अकबर महरा र मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट बस्ने ४५ वर्षीय मिनबहादुर पाल रहेका छन् ।
उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। जिप दुर्घटनाको कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।