डडेल्धुरा, चैत १८ — जिल्लाको अमरगढी नगरपालिका–५, शिक्षा रोडमा स्थापना गरिएको ‘सप्राइज एण्ड डिजिटल हब’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। हबको उद्घाटन डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक महता ले एक कार्यक्रमबीच गर्नुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष महताले यस्ता बहुउद्देश्यीय सेवा केन्द्रहरूले स्थानीय युवालाई सीपमूलक तथा व्यावसायिक शिक्षामा जोड दिँदै स्वरोजगारका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले डिजिटल युगअनुकूल आवश्यक सीप विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै यस्ता संस्थाहरूले जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
हबले ‘एकै स्थानबाट बहुआयामिक सेवा’ प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। यसअन्तर्गत सञ्चालन हुने कम्प्युटर इन्स्टिच्युटमार्फत बेसिक कम्प्युटर, एमएस अफिस, ग्राफिक डिजाइन, भिडियो सम्पादन, वेब डिजाइन, ट्याली/एकाउन्टिङ तथा नेपाली र अंग्रेजी टाइपिङ जस्ता सीपमूलक तालिम उपलब्ध गराइनेछ।
त्यस्तै, अनलाइन सेवा अन्तर्गत लोकसेवा फाराम भर्ने, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) तथा राहदानी (पासपोर्ट) आवेदन, अनलाइन परीक्षा तथा रोजगारी आवेदन, बायोडाटा (CV) तयार गर्ने लगायतका सेवा प्रदान गरिने जनाइएको छ।
हबले सप्राइज तथा उत्सव व्यवस्थापन सेवा पनि सञ्चालनमा ल्याएको छ। विवाह, इन्गेजमेन्ट, जन्मदिन, वार्षिकोत्सव, बेबी सावर, विद्यालय कार्यक्रम सजावट, कार डेकोरेशन, बुके तथा विभिन्न उपहार सामग्री तयारीका साथै “ग्राहकको चाहनाअनुसार होम डेलिभरी सप्राइज सेवा समेत उपलब्ध हुने सञ्चालक सागर ताम्राकारले जानकारी दिए।”

संस्थाले “हरेक उत्सव र डिजिटल सीप एउटै छानामुनि” भन्ने अवधारणासहित सेवा सुरु गरेको जनाउँदै स्थानीय स्तरमै गुणस्तरीय सेवा तथा सीप विकासका अवसर विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय बुद्धिजीवी, युवा, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
हब सञ्चालनमा आएसँगै स्थानीय युवामाझ सीप विकास तथा स्वरोजगारका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।





