संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “सम्पूर्ण सभ्यता नष्ट हुने” चेतावनीसहित दिएको समयसीमा सकिन केही बेरअघि युद्धविरामको सहमति भएको हो।

संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्।

ट्रम्पले स्ट्रेट अफ होर्मुज खोल्न दिएको समयसीमा सकिनुभन्दा १० मिनेट अगाडी वार्ताको मध्यस्थता गरेका प्रधानमन्त्री शहबाज शरीफ युद्धविराम “तत्कालै लागु हुने” बताएका थिए।

उक्त समयसीमा नेपाली समयानुसार बुधवार बिहान ५:४५ मा सकिँदै थियो।

पाकिस्तानको मध्यस्थता

पाकिस्तानी प्रधानमन्त्रीले इरान युद्धको समाधानका लागि भन्दै एप्रिल १०मा इस्लामाबादमा दुवै पक्षका प्रतिनिधिमण्डललाई आमन्त्रण गरेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन्।

युद्धमा सामेल भएको इजरेलले पनि युद्धविराम सहमति पालना गर्ने विवरण आएको छ।
वार्तामा मध्यस्थको भूमिका खेलेको पाकिस्तानमार्फत् अमेरिकासामु युद्धविरामको १० बुँदे योजना पेस गरिएको इरानले पुष्टि गरेको छ।

युद्धविराम घोषणापछि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) ले वक्तव्य जारी गर्दै ढिलोमा १५ दिनभित्र इस्लामाबादमा औपचारिक वार्ता हुने जनाएको छ।

वार्तामा “युद्धभूमिमा इरानले हासिल गरेको जितलाई राजनीतिक वार्तामार्फत् सुदृढ गरिने” उसले जनाएको छ।
यसअघि इरानको सरकारी टेलिभिजनमार्फत् युद्धविरामको १० बुँदे योजना अघि सारिएको थियो।

त्यसमा भविष्यमा इरानविरुद्ध आक्रमण नगर्ने सुनिश्चितता, स्ट्रेट अफ होर्मुजमा इरानको नियन्त्रणको निरन्तरता, युरेनिअम प्रशोधनका लागि स्वीकृति दिइनुपर्ने लगायतका विषय उल्लेख थिए।

तत्काल लागु युद्धविरामले मध्यपूर्वमा अमेरिका र इजरेलसँग चर्किएको इरानको तनाव कम हुने अपेक्षा गरिएको छ। तर विश्लेषकहरूले दीर्घकालीन शान्ति हुन अझै कठिन चुनौतीहरू कायमै रहेको बताएका छन्।

तेलको मूल्य घट्न थाल्यो

युद्धविरामको सहमतिसँगै इन्धनको मूल्य घट्ने क्रम सुरु भएको छ।

मङ्गलवारसम्म प्रतिब्यारल १०० अमेरिकी डलरमा कारोबार भइरहेको कच्चा तेलको मूल्य ९४.५ डलर प्रतिब्यारलमा झरेको छ।

एशियाली शेअर बजार पनि युद्धविरामको सहमतिपछि उकालो लागेको छ।

वार्ता जटिल हुनसक्छ

अमेरिका र इरानबीच विश्वासको सङ्कटबीच नयाँ चरणको वार्ता सुरु हुने भनिएको छ।

पछिल्लो एक वर्षमा दुवै देशबीच दुई पटक वार्ता भएका थिए। दुवै पटक वार्ताहरू चलिरहेकै समयमा युद्ध सुरु भएको थियो।

इरानी सरकारी सञ्चारमाध्यमले आफूलाई युद्धमा जति धेरै विजेता देखाए पनि इरान अहिले कमजोर अवस्थामा छ।

इरानले ठूलो सैन्य क्षति बेहोरेको छ भने अर्थतन्त्र गम्भीर सङ्कटमा परेको छ। इरानको सत्ताले आन्तरिक रूपमा पनि विपक्षी शक्ति र जनताको आलोचना सामना गरिरहनुपरेको अवस्था छ।

ज्यानुअरीमा सरकारविरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएका केही व्यक्तिहरूलाई पछिल्ला दिनहरूमा मृत्युदण्ड दिइन थालेपछि इरानको आन्तरिक अवस्था झन् तनावपूर्ण बनेको छ।

इरानको सत्ताले देशभित्र आफ्नो नियन्त्रण बलियो बनाउन आवश्यक छ। तर त्यही समयमा उसले राखेका मागहरू अमेरिकाका लागि स्वीकार गर्न कठिन छन्।

अमेरिकाले होर्मुजमा निर्बाध समुद्री आवागमन कायम रहने सर्तमा युद्धविराम स्वीकार गरिएको जनाएको छ।







स्रोत : BBC नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *