नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताहरूका लागि डेटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स काटिने समस्याको समाधान निकालेको छ । यससँगै यूएसएसडी कोड डायल गरी ग्राहकले मेन ब्यालेन्स काटिने वा नकाटिने भन्ने विकल्प आफैँ रोज्न सक्ने भएका छन् ।
कम्पनीका अनुसार यसका लागि सुरुमा *444# डायल गर्नुपर्ने हुन्छ । त्यसपछि चौथो नम्बरमा Enable/Disable PAYG भन्ने विकल्प देखा पर्छ । त्यसलाई छान्नको लागि अङ्क 4 थिचेर Send गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि PAYG (पे एज यु गो) अर्थात् तपाईँ जति सेवा प्रयोग गर्नु हुन्छ, त्यसको शुल्क सोझै मेन ब्यालेन्सबाटै काटिने सुविधाका विभिन्न विकल्प देख्न सकिन्छ ।
जसको पहिलो नम्बरमा Disable (निष्क्रिय गर्ने), दोस्रोमा Enable (सक्रिय पार्ने) र तेस्रोमा Status (सक्रिय वा निष्क्रिय कुन अवस्थामा छ भन्ने कुरा यकिन गर्ने) विकल्पहरू क्रमशः राखिएका छन् । यदि तपाईँ डेटा प्याकेज सकिएपछि मेन ब्यालेन्स नकाटियोस् भन्ने चाहनु हुन्छ भने अङ्क 1 थिचेर Send गर्न सक्नु हुन्छ ।
तर कहिले काहीँ मोबाइलमा डेटा प्याकेज नभएको तर मेन ब्यालेन्सबाटै केही समयका लागि डेटा चलाउनु पर्ने आवश्यकता पनि पर्न सक्छ । अथवा मोबाइल डेटा आवश्यक नपर्ने र कहिले काहीँ डिजिटल भुक्तानीका लागि डेटा प्याक बिनै थोरै समयका लागि मात्र डेटा चलाउनु पर्ने अवस्थामा यसलाई सक्रिय पार्न सकिन्छ । त्यसका लागि अङ्क 2 थिचेर Send गर्नुपर्ने हुन्छ ।