ललितपुर । बुधवार साँझ पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका सुमित र सिर्जन नेम्वाङको ज्यान गएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार नेम्वाङ दाजुभाइको एउटालाई गरेको फोन रङ नम्बरमा डायल हुँदा पाटनको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीलाई गएको थियो ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार रङ नम्बरमा फोन जाँदा कुराकानीका क्रममा विवाद भएको थियो । विवाद भएपछि सुमित र सिर्जनलाई सञ्जीवले पाटन बोलाएका थिए ।
आफूबाट गल्ती भएको भन्दै माफी माग्न र मिल्नका निम्ति सुमित–सिर्जन दाजुभाइ त्यहाँ पुगेका थिए । उनीहरू दुवै पक्ष एक आपसमा अपरिचित थिए ।
दाजुभाइले गल्ती भयो भनेर कुरा गर्न खोज्दा कुरै नसुनी मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले सिर्जनलाई प्रहार गरेका थिए । भाइमाथि चक्कु प्रहार भएपछि दाइ सुमित छुटाउन तम्सिए । तर, उनीमाथि पनि छुरा प्रहार भएको बोगटीले बताए ।
घटनास्थलबाट प्रहरीलाई खबर पुग्नासाथ सातदोबाटो वृत्त र पुल्चोक प्रभागबाट प्रहरी टोली पुगेको थियो । प्रहरी पुग्दा घाइते अवस्थामा सुमित र सिर्जन ढलेका थिए । चक्कु प्रहार गर्ने सञ्जीव चक्कु बोकेर भाग्दै थिए । भागेका सञ्जीव नजिकैको एक रेस्टुरेन्टमा लुक्ने क्रममा महिला प्रहरीले नियन्त्रणमा लिएकी हुन् । ती महिला प्रहरीमाथि पनि उनले दुर्व्यवहारको प्रयास गरेका थिए ।
घाइते दाजुभाइलाई प्रहरीले तत्कालै ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगेको थियो । अस्पतालले मृत घोषणा गरेको हो ।
मृतक सुमित ३३ र सिर्जन २६ वर्षका थिए । प्रहरीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार सुमित र सिर्जन बुबासहित ललितपुरको इमाडोलमा बस्थे । उनीहरु त्यहीँ जन्मिएका र हुर्किएका हुन् । उनीहरुकी आमा लण्डनमा रहेको सूचना प्रहरीले पाएको छ । सुमित र सिर्जन पनि आमा भेट्न लन्डन जाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।