अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बंगलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । शुक्रबार पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा शनिबार नेपाल बंगलादेशसँग २९ रनले पराजित भएको हो । बंगलादेशले जितका निम्ति १८४ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

नेपालका निम्ति कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा ६ चौका र एक छक्काको सहयोगमा अविजित ५९ रन बनाए । आसिफ शेखले २४ बलमा २८, लोकेश बमले १० बलमा तीन चौका प्रहार गर्दै १५ रन जोडे । कप्तान रोहित पौडेलले १० रन बनाए ।

बलिङतर्फ राकिबुल हसनले तीन विकेट लिए । सेफ हसन, रिपोन मण्डल र मृत्युन्जय चौधरीले समान एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

बंगलादेशका ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए । अफिफ होसेनले अविजित ४८ रन जोडे ।

नेपालका रिजन ढकालले दुई विकेट लिए । नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *