अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभरमा उत्कृष्ट बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रन बनाउँदा जेन कर्टेन २० रनमा नटआउट रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रन बनाए । लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे ।

नेपालले अतिरिक्त ३२ रन पाएको थियो । होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १-१ विकेट हात पारे ।

यस अघिका ३ वटै खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो ।
अब नेपालले बुधबार मेलवर्न रेनेगेड्स एकेडेमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।
