अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ। आफ्नो पाँचौं खेलमा नेपालले मेलवर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै सिरिजमा दोस्रो जित दर्ता गराएको हो। 

डार्बिनमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलवर्न २० ओभरमा १०६ रनमा अलआउट भयो।

खेलको तेस्रो ‍ओभरमा मेलवर्नका ड्यान ब्रासरलाई २ रनमा बोल्ड गरेका सोमपाल कामीले १६औं ओभरमा उत्कृष्ट बलिङ गर्दा खेल नेपालको पक्षमा आयो।

१६औं ओभरको पहिलो बलमा जय लेमिन १८ रनमा रनआउट भएका थिए। त्यसपछि सोमपालले यो ओभरको पाँचौ बलमा अर्जुन नयरलाई २६ रनमा बोल्ड गरे भने अन्तिम बलमा ओ’निललाई शून्यमा एलबिडब्लूको धराापमा पारे। यो ओभरमा ३ विकेट लिएको नेपालले ६ रन खर्चिएको थियो। 

अन्तिम ओभरको अन्तिम दुई बलमा सोमपालले विकेट लिएपछि मेलवर्न अलआउट भएको थियो। 

बलिङमा नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए। उनले चार ओभरमा १७ रन मात्र दिए। यस्तै कुशल भुर्तेलले २ विकेट लिँदा २० रन खर्चिए।

ब्याटिङमा लगातार खराब फर्ममा रहेका कप्तान रोहित कुमार पौडेल र ओपनर आशिफ शेख बेन्चमा रहेका थिए। साथै लेग स्पिनर सन्दिप पनि बेन्चमा छन् । मैदानमा दीपेन्द्र सिंह ऐरीले कप्तानी सम्हालेका थिए ।

तस्बिर सबै : क्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *