अछाममा छाउगोठमा बसेका एक बालिकासहित दुई जनाको पहिरोमा परि मृत्यु भएको छ । पंचदेवल विनायक नगरपालिकामा वडा नम्वर ८ को सेलापानीस्थित चुरखोली टोलमा भिरबाट खसेको पहिरोको ढुंगा लागेर दुई जनाको ज्यान गएको हो ।
छाउ बार्न घरभन्दा पर खेलमा त्रिपाल टाँगेर सुतेका ३५ वर्षीया निम खनाल र ८ वर्षीया कविता भण्डारीको मृत्यु भएको हो । ३६ वर्षीया रत्ना भण्डारी शक्त घाइते हुनुभएको छ । निम र रत्ना दुबै महिला महिनावारी भएको समयमा घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेको अवस्थामा घट्ना भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले बताउनुभयो । ८ वर्षीया कविता आमासँगै सुत्न गएकी बुझिएको छ।
गाउँ माथिको भिरबाट ढुंगा त्रिपालमाथि खसेको शाहीले बताए। उहाँका अनुसार दुबै महिलालाई महिनावारी भएको आज ६ दिन पुगेको थियो। घाइते रत्नाको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको बुझिएको छ।
उक्त स्थानमा अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेक बहादुर देउवाको नेतृत्वमा प्रहरी खटिएको छ।