बेइजिङ : लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिको विषयमा प्रधानमन्त्री ओलीको आपत्ति

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको दुईपक्षीय भेटका क्रममा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा भारत–चीनबीच भएको सहमतिप्रति कडा आपत्ति जनाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले सुगौली सन्धि (सन् १८१६) को प्रावधान स्मरण गराउँदै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको सार्वभौम भूमि भएको स्पष्ट पारे।

शनिबार चीनको थियानजिनस्थित अतिथि गृहमा भएको द्विपक्षीय भेटमा प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाण प्रस्तुत गर्दै नेपालले आफ्नो दाबीप्रति दृढ अडान लिएको जानकारी दिए।

भेटपछि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पत्रकारहरूसँग भने,

“प्रधानमन्त्रीज्यूले महाकाली नदीपूर्वका सम्पूर्ण भूभाग नेपालको भएको स्पष्ट पार्दै भारत–चीन सम्झौताप्रति नेपालको आपत्ति रहेको कुरा उठाउनुभयो।”

सचिव राईका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–भारतको सीमा विवादमा चीन पर्न नचाहेको भन्दै दुई पक्षले समाधान गर्नुपर्ने बताएका छन्। भेटवार्तामा दुई देशबीचको मित्रवत् सम्बन्ध, सहकार्यका विविध क्षेत्र तथा द्विपक्षीय संयन्त्रलाई अझ सक्रिय बनाउने विषयमा पनि सहमति बनेको छ।

प्रधानमन्त्रीको भनाइको जवाफमा राष्ट्रपति सी जिनपिङले नेपालको अडानप्रति कुनै फरक मत नरहेको बताउँदै यो विषय नेपाल–भारतबीचको छलफलमार्फत निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्।

यद्यपि चीनको विदेश मन्त्रालयले भेटबारे विज्ञप्ति सार्वजनिक गरे पनि लिपुलेकसम्बन्धी आपत्तिको प्रसंग भने उल्लेख गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *