काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने आधिकारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ । उक्त भ्रमण अन्तर्गत उहाँले तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) को २५औँ शिखर सम्मेलन र बेइजिङमा भएको जापानविरुद्ध चीनको विजयको ८०औँ वार्षिकोत्सवको सैनिक परेडमा सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री ओली चीनको तियानजिनमा सम्पन्न शाङ्हाइ सहयोग संगठन (एससीओ) को २५ औँ शिखर सम्मेलन तथा बेइजिङ्मा आयोजित जापानविरुद्ध चीनको विजयको ८० औँ वार्षिकोत्सवको सैनिक परेडमा सहभागी हुन भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलसहित प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । साथै चीनका उपराष्ट्रपति हान झेङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदार रहँदै आएको छ ।

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा तथा उच्चस्तरीय सरकारी अधिकारीहरू प्रतिनिधिमण्डलमा सहभागी हुनु भएको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा, मुख्य सचिव एकनारायण अर्याल, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *