नेपाली सेनाले आज राति १० बजेदेखि देशभर परिचालन हुने भएको छ। सेनाले सोमबार एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको अनुचित फाइदा उठाउने समूहहरूलाई कडा चेतावनी दिंदै सुरक्षामा दृढ रहने जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, लुटपाट र आगजनीजस्ता गतिविधि गरिरहेको हुँदा यसप्रकारका कार्य नगर्न/नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ।”
सेनाले यस्तो गतिविधि नरोकिए कडाइका साथ नियन्त्रणमा लिने उल्लेख गर्दै सम्पूर्ण सुरक्षा निकायहरू नेपाल र नेपालीको सुरक्षामा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
भाद्र २४ गते राति १० बजेदेखि सक्रिय हुने सेनाले सर्वसाधारणलाई पनि शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न हार्दिक अपिल गरेको छ।
