
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलको अक्सनमा सहभागी हुने १ सय ५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ-क्यानले गत असार २८ देखि साउन ६ गतेसम्म खेलाडी दर्ता खुला गरिएको थियो । दर्ता भएका खेलाडीको सूची आठ वटै फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइएको थियो ।
४ सय ५८ खेलाडीले अक्सनका लागि आवेदन दिए पनि क्यानको प्राविधिक टोलीले बनाएको मापदण्ड र आठ फ्रेन्चाइज टोलीको छनोटका आधारमा १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरेको हो ।
दोस्रो संस्करणको एनपीएलको मिनी अक्सन शनिबार हुनेछ । मिनी अक्सनका लागि ‘ए’ श्रेणीमा ८ जना खेलाडी, बीमा ३५ जना र सी श्रेणीमा १ सय ७ जना खेलाडी सामेल गरिएको छ ।
टोलीहरूले ‘ए’ श्रेणीका खेलाडीका लागि १० देखि १५ लाखसम्म खर्च गर्न पाउने छन् भने ‘बी’ श्रेणीका लागि न्यूनतम मूल्य ५ लाख र अधिकतम १० लाख रूपैयाँ खर्च गर्न सक्ने छन् । यस्तै ‘सी’ ग्रेडका खेलाडीको मूल्य न्यूनतम मूल्य २ लाख र अधिकतम ५ लाख तय गरिएको छ ।
गत संस्करण मार्कीबाहेक अक्सनमार्फत ८० खेलाडी छनोट भएका थिए । जसमध्ये मार्कीसहित ५१ जनालाई दोस्रो संस्करणका लागि टोलीहरूले निरन्तरता दिएका छन् । त्यसकारण यस पटकको मिनि अक्सनमा थोरै मात्र खेलाडीमाथि बोली लाग्नेछ ।
अक्सनपछि फ्रेन्चाइजहरुले विदेशी खेलाडी र ट्यालेन्ट हन्टमार्फत टोलीलाई पूर्णता दिनेछन् । क्यानको वार्षिक क्यालेन्डर दोस्रो संस्करणको एनपीएल आगामी नोभेम्बर- डिसेम्बरमा आयोजना हुने तालिका छ ।
टियु क्रिकेट मैदान स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेकाले दोस्रो संस्करणको एनपीएलका खेलहरू रातिसमेत खेलिने छन् ।