काठमाडौँ असोज १३। आसिफ शेख र सन्दीप जोराको उत्कृष्ट अर्धसतकमा नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ । युनिटी कपअन्तर्गत युएईको शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रन बनाएको हो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाए। उनले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै सन्दीप जोराले ६३ रन बनाए। ३९ बलमा उनले ३ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै आदिल आलम ५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अन्तिम बलमा एलबी डब्लु आउट भए। त्यसअघि कुशल भुर्तेल २ रन, कप्तान रोहित पौडेल ३ रन, कुशल मल्ल ७ रन र गुल्शन झा ६ रनमा आउट भएका थिए।
वेस्ट इन्डिजका लागि अकिल हुसेन र किले मेयर्सले २-२ विकेट र जेडिह ब्लाड्स १ विकेट लिए। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १८ रनले पराजित गरेको थियो।