दीपेन्द्रसिंह ऐरी र आसिफ शेखप्रेरित नेपालले आईसीसी टी–२० क्रिकेट विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध २१२ रनको लक्ष्य बनाएको छ ।
शुक्रबार ओमानको अल अमेरतामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २११ रनको योगफल खडा गरेको हो ।
नेपालका ओपनर आसिफले सर्वाधिक ६९ रन बनाए । आसिफले ४१ बलमा सात चौका र चार छक्का प्रहार गरे ।
टि-ट्वान्टी आईमा आसिफको यो दशौं अर्धशतक हो। उनी ४१ बलमा ७ चौका र ४ छक्का सहित ६९ रन जोडेर नोआ मियाडको फुल टस बलमा डारियस भाइसरद्वारा क्याच आउट भए।
टि-ट्वान्टी आईमा उनको यो व्यक्तिगत सर्वाधिक उच्च स्कोर हो। यसअघि उनले वेस्ट इन्डिज विरुद्ध ६८ रन बनाएका थिए।
नेपालको निम्ति दीपेन्द्रले पनि अर्धशतक प्रहार गरे । दीपेन्द्रले ३३ बलमा दुई चौका र चार छक्का प्रहार गरे । उनको पनि टि ट्वान्टी आईमा यो दशौं अर्धशतक हो।
त्यस्तै लोकेस बमले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ४ छक्का २ चौकासहित अविजित ३९ रन जोडे ।उनको टी ट्वान्टी आई करियरको यो उच्च रन हो। यसअघि उनले ३३ रन बनाएका थिए।
कप्तान रोहित पौडेलले पनि २१ रन प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाए ।
समोअका सौमानी ताई, डारियस भाइसेर, डानियल बुर्गेस र नोअह मीडले समान एक विकेट लिए ।
नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेलअगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको छ । नेपालले समग्रमा तेस्रोपटक टी–२० विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।