बैतडी असोज ३१ । मेलौली नगरपालिका–स्थित खेलमैदान बिठन्नेमा सम्पन्न एमएस कप सिजन–२ क्रिकेट प्रतियोगिताको उपाधि शिवनाथ स्पोर्ट्सले हात पारेको छ।
शुक्रबार सम्पन्न फाइनल खेलमा शिवनाथले मेलौली वारियर्सलाई पराजित गर्दै उपाधि आफ्नो कब्जामा लिएको हो।

फाइनल खेलमा दमदार खेल प्रदर्शन गर्दै शिवनाथ स्पोर्ट्सले मेलौली वारियर्समाथि प्रभावशाली जित निकाल्दै सिजन–२ को च्याम्पियनको उपाधि जितेको प्रतियोगिता संयोजक नारद ओझाले जानकारी दिनुभयो।

विजेता बनेको शिवनाथ स्पोर्ट्सले रु ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै, उपविजेता बनेको मेलौली वारियर्सले रु २५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

उत्कृष्ट खेलाडीहरू पुरस्कृत

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विशेष सम्मान गरिएको छ।
बगलेखानका दीपक जोशी ‘बेष्ट ब्याट्सम्यान’ घोषित हुँदै रु २ हजार २५५ पुरस्कार प्राप्त गरे।

त्यस्तै, शिवनाथ स्पोर्ट्सका रघुवीर साउदले प्रतियोगिताभर शानदार खेल प्रदर्शन गर्दै ‘बेष्ट बलर’ र ‘प्लेयर अफ द टुर्नामेन्ट’ दुवै उपाधि जिते।
उनले रु ३ हजार ५५५, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

संयोजक ओझाका अनुसार, प्रतियोगिताले स्थानीय युवा खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने अवसर र स्थानीय खेलकुद विकासमा नयाँ उत्साह प्रदान गरेको छ।

२० टिमको सहभागिता, भव्य उपस्थितिमा सम्पन्न फाइनल

मेलौली स्ट्राइकर क्लबको आयोजनामा असोज १८ गतेदेखि सुरु भएको खुला टि–२० टेनिस बल क्रिकेट प्रतियोगिता (एमएस कप सिजन–२) मा २० टिमले सहभागिता जनाएका थिए।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा
मेलौली नगरपालिकाका पूर्व प्रमुख कृष्णसिंह नायक,
इलाका प्रहरी कार्यालय मेलौलीका इन्चार्ज नरेन्द्रबहादुर चन्द, स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिहरूले विजेता र उपविजेता टिमलाई बधाई दिँदै खेलकुदलाई युवा परिचालन, एकता र सामाजिक सद्भावको माध्यमका रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

स्थानीय खेलकुदमा नयाँ ऊर्जा

एमएस कप सिजन–२ ले मेलौली क्षेत्रमा स्थानीय प्रतिभा उजागर गर्न, खेलकुदको संरचना सुदृढ गर्न र युवा समुदायलाई सकारात्मक बाटोमा प्रेरित गर्न ठूलो योगदान पुर्‍याएको आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *