भारतीय महिला टोलीले पहिलो पटक एकदिवसीय महिला विश्वकपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ।

आइतबार नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा भएको रोमाञ्चक फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै उपाधि उचालेको हो।

२९९ रनको लक्ष्य पछ्याउन उत्रिएको दक्षिण अफ्रिकी टोली ४५.३ ओभरमै २४६ रनमा समेटियो।
कप्तान लौराले १०१ रनको शानदार शतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २९८ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो।
भारतका लागि शफाली वर्माले ८७ रन तथा दीप्ती शर्माले ५८ रनको महत्वपूर्ण योगदान पुर्‍याए।

भारतका लागि दीप्ती शर्माले शानदार बलिङ गर्दै ९.३ ओभरमा ३९ रन खर्चिएर पाँच विकेट लिइन्। शफाली वर्माले पनि दुई विकेट हात पारिन्।

दक्षिण अफ्रिकाका अयाबोङ्गा खाकाले ९ ओभरमा ५८ रन दिँदै तीन विकेट लिए।

यसअघि भारतले २००५ र २०१७ को महिला एकदिवसीय विश्वकप र २०२० को टी–२० विश्वकपमा उपविजेता हुँदै चुकाएको थियो। तर यसपटक इतिहास रच्दै भारतीय महिला टोलीले पहिलो पटक विश्वकप च्याम्पियन बन्न सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *