तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूका अनुसार खामेनीको इजरायली र अमेरिकी आक्रमणमा परी मृत्यु भएको हो।

खामेनीको मृत्युको आधिकारिक पुष्टि भएसँगै इरान सरकारले देशभर सात दिन सार्वजनिक बिदा र ४० दिन शोकको घोषणा गरेको छ । सञ्चार माध्यमहरूका अनुसार यो आक्रमण इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य कारबाहीको परिणाम हो।

पछिल्लो समय यस क्षेत्रमा बढ्दै गएको सैन्य तनाव र द्वन्द्वका बीच यो घटना सार्वजनिक भएको हो। इरानका सरकारी निकायहरूले आफ्ना शीर्ष नेताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आगामी ४० दिनसम्म देशभर शोक मनाइने र राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिएका छन्। यस घटनापछि इरानको आन्तरिक सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने अन्तर्राष्ट्रिय समुदायले यसलाई निकै चासोका साथ हेरिरहेका छन्।

इरानी सत्ताको सर्वोच्च पदमा रहेका खामेनीको निधनले इरानको भावी राजनीतिक दिशा र क्षेत्रीय सुरक्षामा कस्तो असर पार्नेछ भन्नेबारे अहिले विश्वभर विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको मृत्युको घोषणा गरेका थिए । तेस्रो राष्ट्रपतिका रूपमा इरान-इराक युद्धको नेतृत्व गर्दा नै उनको सम्बन्ध ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर’ (IRGC) सँग बलियो भएको थियो। उनलाई पश्चिमी देशहरूका कट्टर विरोधी र ‘हार्डलाइनर’ नेता मानिन्थ्यो। उनको निधनसँगै मध्यपूर्वको राजनीतिमा नयाँ र अनिश्चित मोड आउने विश्लेषण गरिएको छ।

खामेनीको निधनपछि इरानमा ४० दिने शोकको घोषणा गरिएको छ भने सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। नयाँ नेता चयन नहुन्जेलसम्मका लागि उच्च परिषद्ले प्रशासनिक कार्य हेर्ने बताइएको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *