विश्वभरका क्रिकेट प्रेमीहरूको ध्यान आज अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा केन्द्रित हुँदैछ । फरक इतिहास रच्न मैदानमा उत्रिने आयोजक भारत र न्युजिल्यान्डका खेल हेर्न रंगशालामा १ लाख ३० हजार दर्शक उपस्थित हुँदैछन् भने करोडौँ दर्शकहरूले मैदान बाहिरबाटै यो खेल नियाल्दैछन् ।
फाइनल सम्मको यात्रा तय गर्दा यी दुई टोलीले फरक तर प्रभावशाली यात्रा तय गरेका छन्। प्रतियोगिता भरी भारत सबैभन्दा प्रभावशाली टोली बनेको छ । शान्त, संयमित र खतरनाक छवि बनाएको न्युजिल्यान्ड र भारतबिचको खेल घमासान हुने निश्चित देखिन्छ। विश्वकपको सदाबहार टिम रहेका यी दुईबिचको फाइनललाई फरक दृष्टिकोणबाट हेरिएको छ ।
यो भिडन्त भारतको निम्ति प्रतिष्ठाको लडाईँको रूपमा लिइएको छ । सन् २०२४ मा महिला र पुरुषतर्फ विश्वकप जितेर एक छत्र राज गरेको भारतसामू यस संस्करणमा उही लयलाई कायम राख्ने दबाब छ ।
यता न्युजिल्यान्डको निम्ति भने परिदृश्य फरक छ । उसको निम्ति विश्व विजेताको सूचीमा नाम लेखाउनु आफैँमा इतिहास बन्नेछ । यस संस्करणमा उपाधि जित्न सके टोलीले पटक– पटक उपाधि नजिक पुगेर पनि हार्नुपरेको पीडा भुलाउन सक्छ ।
१० औँ संस्करण पूरा भइसक्दा न्युजिल्यान्डले एक पटक उपविजेता मा चित्त बुझाएको छ भने तीन पटक सेमिफाइनल यात्रा तय गरेको इतिहास छ । यस टोली सन् २०१४ को विश्वकपमा सुपर १० सम्म पुग्दा सुपर–८ मा तीन पटक पुगेको छ । खेल नेपाली समय अनुसार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
ब्याटिङमा आक्रामक न्युजिल्यान्ड
यस संस्करणमा ब्याटिङमा आक्रामक देखिएको कुनै टिम छ भने त्यो न्युजिल्यान्ड हो । न्युजिल्यान्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १६९ रनको लक्ष्य एक विकेट गुमाएर पूरा गर्दै ब्याटिङमा आफ्नो क्षमता देखाइसकेको छ ।
टोलीसँग टिम सेफर्ट र फिन एलन जस्ता आक्रामक ब्याटरको साथ पाएको छ । पावर प्लेमा यी दुईको जोडी जम्न सके न्युजिल्यान्डले घरेलु टोलीविरुद्ध पनि विशाल लक्ष्य प्रस्तुत गर्न सक्छ वा घरेलु टोलीले दिएको लक्ष्य पछ्याउन सक्छ।
यी दुईले १७५ रनको शतकीय साझेदारी गर्दै विश्वकपको सर्वाधिक साझेदारी गर्ने खेलाडी सूचीमा आफ्नो नाम दोस्रो स्थानमा लेखाएका छन् ।
बलिङमा र ब्याटिङ दुवैमा जमेका अलराउन्डर तथा कप्तान मिचेल सान्टनर भारतको लागि चुनौती बन्न सक्छन् । डारेल मिचेललाई छिटो पभेलियन फर्काउन भारतलाई टाउको दुखाई को विषय बन्न सक्छ ।
न्युजिल्यान्डसँग ब्याटिङमा मात्र हैन भरपर्दा बलरहरू पनि छन् । योर्कर फ्याँक्न माहिर म्याट हेनरी भारतविरुद्ध पावर प्लेमा घातक साबित हुन सक्छन् । रचिन रवीन्द्रको बलिङले भारतको ठुला साझेदारी तोड्न सक्छ । आजको भिडन्तबारे कप्तान सान्टनरले भनेका छन् ।
लाखौँ भारतीय दर्शकसामु भिड्दा केही दबाब हुने भए पनि आफ्नो टोली आत्मविश्वासी ढंगले प्रस्तुत हुने कप्तान सान्टनरले बताएका छन् । आफ्नो टोली पूर्ण लयमा रहेको जिकिर गर्दै उनले भारतीय समर्थकलाई दुःखी बनाउँदै उपाधि चुम्न आतुर रहेको बताएका छन् । ’’उसकै घरेलु मैदानमा खेल्दा केही दबाब त पक्कै हुनेछ । यद्यपि, भारतलाई नै दबाबमा पार्ने तयारीका साथ हामी तम्तयार छौँ,’’ उनले भनेका छन्,’’यसपटक भारतीय समर्थकहरूको मन दुखाउँदै ट्रफी उचाल्न हामी कुनै कसुर बाँकी राख्नेछैनौँ ।’’
सन्तुलित भारत
भारत सन्तुलित टिमको रूपमा देखिएको छ । टिममा शीर्ष क्रमदेखि तल्लो क्रमसम्म सक्षम खेलाडी उपलब्ध छन् । शीर्षक्रमले राम्रो प्रदर्शन गर्न नसक्दा मध्य क्रमले भारतको इनिङ सम्हालेको देखिन्छ। विशाल लक्ष्य प्रस्तुत गर्न नसक्दा सानो योगफल रक्षा गर्न पनि बलिङ सक्षम देखिएको छ ।
सञ्जु सामसन न्युजिल्यान्डविरुद्ध पर्खाल बन्न सक्छन् । पछिल्ला तीन खेलदेखि अर्धशतकीय पारी खेलको सञ्जुलाई रोक्न न्युजिल्यान्डलाई हम्मे हम्मे पर्न सक्छ ।
शीर्ष क्रमका अर्का ब्याटर अभिषेक शर्मा र कप्तान सूर्यकुमार यादवलाई रोक्न न्युजिल्यान्डलाई सहज हुनेछैन। बाउन्ड्री प्रहार गर्न सक्ने शिभम दुवे न्युजिल्यान्डका स्पिनरहरूको निम्ति समस्या बन्न सक्छन् ।
यस संस्करणका खेल हेर्ने हो भने न्युजिल्यान्डले औसतमा लगभग १७० रनको लक्ष्य सहजै पूरा गरेको छ ।
भारतसँग विपक्षी अनुसार रणनीति बुन्ने र त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्ने कौशल टिममा छ । फाइनल प्रवेश गर्न इंग्ल्यान्डलाई आफ्नो रणनीतिको रनभुल्लमा पारेर घरेलु टोली यसको प्रमाण पेस गरिसकेको छ ।
‘डेथ’ ओभरमा भारतका जसप्रीत बुमराहविरुद्ध न्युजिल्यान्डका ब्याटरलाई क्रिजमा टिक्न असहज हुनसक्छ । अक्षर पटेल र अर्सदीप सिंहको स्पिनले न्युजिल्यान्डका ब्याटरहरुलाई छोटो समयमा पभेलियन फर्काउने सम्भावना छ । वरुण चक्रवर्तीको फास्ट बलिङले न्युजिल्यान्डको शीर्ष क्रमलाई सङ्कटमा पार्न सक्छ ।
भारतीय कप्तान सूर्यकुमार यादवले उपाधिको रक्षामा आफूहरू तम्तयार रहेको बताएका छन् । ’’हामी निकै कठिन मोडमा पनि आत्मविश्वासी प्रदर्शन गर्दै यहाँसम्म आइपुगौँ । हामीले निकै राम्रो क्रिकेट खेल्यौँ र यसलाई निरन्तरता दिनेछौँ । फाइनलका लागि हामी सम्पूर्ण ढंगले तयार छौँ । भारतीय समर्थकलाई मेरो सन्देश एक मात्रै छ । सन् २०२३ को परिदृश्य मैदानमा दोहोरिनेछैन,“ उनले भने ।
सन् २०२३ मा अस्ट्रेलियासँगको फाइनलमा भारत स्तब्ध हुन पुगेको थियो ।
हेड टु हेड
भारत र न्युजिल्यान्ड हालसम्म टी–२० अन्तर्राष्ट्रियमा हालसम्म ३० पटक आमनेसामने भइसकेका छन् । जसमा यी भारतले न्युजिल्यान्डलाई १६ पटक पराजित गरको छ भने न्युजिल्यान्ड ११ पटक विजयी भएको छ । तीन खेल भने टाई भएको छ । समग्रमा भारत १६–११ ले अग्रतामा छ ।
विश्वकपमा भने यी दुईले चौथो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । हालसम्म तीन पटक भिड्दा न्युजिल्यान्डले सबै खेल जितेको छ । न्युजिल्यान्डले सन् २००७, सन् २०१६ र सन् २०२१ को विश्वकपमा भारतलाई पराजित गरेको हो ।
पछिल्लो खेलहरू हेर्ने हो भने न्युजिल्यान्डविरुद्ध भारत हाबी छ । गत जनवरीमा खेलेका तीन खेलमा भारतले न्युजिल्यान्डलाई दुई पटक पराजित गरेको छ ।
नयाँ इतिहास कोर्दै भारत–न्युजिल्यान्ड जोडी
भारत र न्युजिल्यान्ड विश्वकप फाइनलमा रङ्गशालामा उत्रिँदा नयाँ इतिहास बन्नेछ।
यो भिडन्तसँगै यी दुई टोली आईसीसीको तीन वटै प्रमुख फम्र्याटका फाइनलमा आमने सामने हुने पहिलो जोडी बन्नेछन् ।
आसीसी फाइनलहरूमा यी दुई टोलीबिचको प्रतिस्पर्धा सन् २००० मा सुरु भएको थियो । सन् २००० को आइसीसी च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्यान्डले फाइनल खेलेको थियो। जसमा न्युजिल्यान्डले बाजी मारेको थियो।
त्यसपछि सन् २०२१ को आइसीसी वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि यो दुई टोली बिच भेट भयो। त्यसमा पनि किवी टोलीले भारतलाई साउथ ह्याम्पटनमा भएको फाइनलमा पराजित गर्दै टेस्ट क्रिकेटको पहिलो विश्व च्याम्पियन बनेको थियो ।
गत वर्ष फेरी फाइनलमै जम्काभेट भयो। दुबईमा भएको आइसीसी च्याम्पियन्स ट्रफीको सो भिडन्तमा भने भारतले बाजी मार्यो ।
अब दुवै टोली आइसीसी पुरुष टी–२० विश्वकपको फाइनलमा फेरि एक पटक ऐतिहासिक भिडन्तका लागि तयार छन् यो पाली चाहिँ कसले बाजी मार्ला भन्नेमा क्रिकेटप्रेमीहरू प्रतिक्षीत छन् ।