सुर्खेत २८ फागुन । वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको  पुष्टि भएको छ ।  
 
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले इनिशाको बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको बताए । 

प्रहरी प्रमुख शाहीका अनुसार बलात्कारपछि मृत्यु भएको हो भन्ने रिर्पोट आए पनि सामूहिक बलात्कार हो वा होइन भन्ने विषयमा थप परीक्षण गर्नुपर्ने भएकाले प्रहरीले उक्त प्रक्रियासमेत अगाडि बढाएको बताए । 
यता, इनिशाका परिवारले भने सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै पक्राउ परेका चारैजनालाई कारबाहीको माग गर्दै आएको छ । 
 
इनिशा मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले बुधबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए ।

फागुन २३ गते बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित सहिद पार्कनजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनीसँगै रहेका वीरेन्द्रनगर–९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।

मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

८ बजे फर्किन्छु भनेर घरबाट निस्किएकी थिइन् इनिशा 
फागुन २३ गते शनिबार विज्ञान विषयको प्रयोगात्मक परीक्षा छ भन्दै इनिशा घरबाट निस्किएकी थिइन् । उनी  वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । 

इनिशा बिहान ८ बजेसम्म फर्किने भन्दै आमा तिलालाई जानकारी गराएर घरबाट निस्किएकी थिइन् । तर, समयमा घर नफर्किएपछि आफूहरूले खोजी सुरु गरेको इनिशाकी आमा तिलाले बताइन् ।

आमा तिलाका अनुसार छोरीलाई फोन गर्दा मोबाइल स्वीच अफ थियो । उनी पढ्ने विद्यालयमा पनि फोन गर्दा सम्पर्क हुन सकेको थिएन । केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै कसैले ‘तपाईंकी छोरी सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी दिएको थियो ।

“घटनास्थल पुग्दा इनिशालाई प्रहरीले घेरेर राखिसकेका थिए,” इनिशाको आमा तिलाले भनिन्, “उनको शरीर रक्ताम्मे अवस्थामा रहेको, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको थियो ।”

इनिशाको परिवारले उनको मृत्यु सामूहिक बलात्कारपछि भएको भन्दै घटनामा संलग्न सबैलाई अनुसन्धान गरी निष्पक्ष छानबिन नहुँदासम्म परिवारले शव नबुझ्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *