काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् । ‘जेनजी’ आन्दोलनका क्रममा जलाइएका सवारीसाधनका नाममा समेत कर्मचारीले इन्धन लिने गरेको पाइएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।
उनले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई यसबारे छानबिनका निम्ति निर्देशन दिएकी छन् । उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र यसअन्तर्गतका अरू निकायका ६ गरी कुल २४ गाडी जलाइएको थियो ।
पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारीसाधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।